images
images
  • र्‍याडिसनमा ग्यास मौज्दात विवाद : मन्त्रालयको दाबी, विभागको खण्डन; होटल व्यवसायी आक्रोशित

    काठमाडौं– काठमाडौंस्थित होटल र्‍याडिसनमा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात रहेको भन्दै सरकारी निकायले अनुगमन गरेपछि विवाद चर्किएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले होटलमा ग्यास लुकाएर राखिएको आशयको विवरण सार्वजनिक गरेपछि होटल व्यवसायी र सेफहरूले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    मन्त्रालयको सचिवालयले बिहीबार सञ्चारकर्मीहरूको समूहमा पठाएको विवरणमा र्‍याडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास भेटिएको उल्लेख गरिएको थियो। त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा होटलले ग्यास लुकाएको चर्चा व्यापक बनेको थियो ।

    तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मन्त्रालयको दाबीलाई खण्डन गरेको छ। विभागका सूचना अधिकारी अनिल किराँतीले अनुगमन टोलीका सदस्यहरूले आफूहरूलाई त्यहाँ ग्यास लुकाएको नभई नियमित भण्डारण भएको जानकारी दिएको बताए। उनका अनुसार ठूलो होटलमा सामान्य घरायसी उपभोगको आधारमा ग्यासको मात्रा तुलना गर्न नमिल्ने विभागको धारणा छ ।

    मन्त्रालयले र्‍याडिसन होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर, एसटीसी ग्यासका ६७ वटा सिलिन्डर र करिब ७० वटा सिलिन्डर चुलोमा प्रयोग भइरहेको जनाएको थियो ।

    यसैबीच नेपाल आयल निगमले पनि बजार अनुगमनका क्रममा केही होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात राखिएको भन्दै चेतावनी जारी गरेको छ । निगमले नाम भने सार्वजनिक गरेको छैन।

    विभागका अनुसार बिहीबार र्‍याडिसनसँगै एभरेस्ट, द्वारिकाज, सोल्टी र मिस फेसन प्रालिमा पनि अनुगमन गरिएको थियो, तर ती कुनै पनि संस्थामा ग्यास लुकाइएको पुष्टि भएको छैन ।

    होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मन्त्रालयको प्रस्तुतीकरणप्रति आपत्ति जनाउँदै होटल उद्योगको प्रकृति नबुझी गरिएको कदमले व्यवसायीलाई आतंकित बनाउने बताए। उनका अनुसार पाँचतारे होटलमा सयौं कोठा, धेरै रेस्टुरेन्ट, बैंक्वेट सेवा र ठूलो औद्योगिक किचन सञ्चालन हुने भएकाले ग्यासको खपत अत्यधिक हुन्छ ।

    शाहले होटलहरूले कालोबजारीका लागि होइन, पाहुनालाई सेवा दिन आवश्यक पूर्वतयारीका रूपमा ग्यास भण्डारण गर्ने गरेको बताए। उनले होटल क्षेत्रसँग समन्वय नगरी गरिएको अनुगमनप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

    होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले सरकारले होटलमा कति ग्यास सिलिन्डर राख्न पाइने भन्ने स्पष्ट मापदण्ड नै नबनाएको बताए। उनका अनुसार व्यवसायीहरूले सम्भावित आपूर्ति समस्या र भविष्यका बुकिङलाई ध्यानमा राखेर केही दिनको आवश्यकताका लागि ग्यास जोहो गर्नु सामान्य व्यवस्थापकीय प्रक्रिया हो ।

    सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष रेशमकुमार लामाले पनि ठूलो होटलमा दैनिक १० देखि १२ वटा वा त्यसभन्दा बढी सिलिन्डर खपत हुन सक्ने बताए। बैंक्वेट र ठूलो कार्यक्रम हुँदा खपत अझ बढ्ने उनको भनाइ छ। उनले र्‍याडिसनमा भेटिएको ग्यासलाई कालोबजारीसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने बताए ।

    होटल व्यवसायी र सेफहरूको साझा माग भने स्पष्ट छ — सरकारले होटलमा कति ग्यास सिलिन्डर राख्न पाइने भन्ने व्यावहारिक मापदण्ड बनाओस्। उनीहरूले आवश्यक परे राज्यलाई सहयोग गर्न तयार रहेको तर संवाद र स्पष्ट नियमबिना व्यवसायीलाई अपराधीझैं व्यवहार गर्नु उचित नहुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images