काठमाडौं– नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न कडा चेतावनी दिएको छ।
निगमले बिहीबार जारी गरेको सूचनामा बजार अनुगमनका क्रममा विभिन्न व्यावसायिक प्रतिष्ठानमा अत्यधिक ग्यास मौज्दात राखिएको भेटिएको जनाएको छ । निगमका अनुसार यही कारण सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाउने अवस्था सिर्जना भएको हो ।
निगमले हाल साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहेको जनाएको छ। तर आपूर्ति बढे पनि उपभोक्ताले अझै सहज रूपमा ग्यास सिलिन्डर पाउन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गरेको छ ।
सूचनामार्फत निगमले सबै व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक ग्यास मौज्दात नराख्न आग्रह गरेको छ। यदि पहिल्यै बढी सिलिन्डर राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न पनि अपिल गरिएको छ ।
निगमले सूचनाविपरीत ग्यास सिलिन्डर मौज्दात राखेको भेटिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।
नेपाल आयल निगमले गत असार ३१ गतेदेखि बजारमा भरी ग्यास सिलिन्डर आपूर्ति सुरु गरेको थियो। निगमले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।


विश्व खबर 




















