images
images
  • सिटिजन्स बैंकको नाफा ६३ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ नाघ्यो

    काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ ।

    गत असार मसान्तसम्म बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २८ करोड ७० लाख रुपैयाँको तुलनामा ६३ दशमलव ०५ प्रतिशत बढी हो ।

    खुद ब्याज आम्दानी सामान्य घटे पनि कर्जा नोक्सानी व्यवस्था खर्चमा आएको ठूलो कमीका कारण बैंकको नाफा उल्लेखनीय रूपमा बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ दशमलव ९० प्रतिशतले घटेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ६ दशमलव ३३ प्रतिशतले बढेको छ ।

    बैंकको कुल सञ्चालन आम्दानी २ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ८१ दशमलव २६ प्रतिशतले बढेको छ। सबैभन्दा ठूलो सुधार कर्जा नोक्सानी व्यवस्था खर्चमा देखिएको छ। अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको यस्तो खर्च घटेर ८२ करोड ९३ लाख रुपैयाँमा झरेको छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा कायम भएको छ भने मूल्य–आम्दानी अनुपात १४ दशमलव ५५ गुणा रहेको छ ।

    १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

    समीक्षा अवधिमा बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    कर्जा नोक्सानी व्यवस्था खर्चमा आएको तीव्र गिरावट, सञ्चालन मुनाफामा भएको वृद्धि तथा प्रतिशेयर आम्दानीमा सुधारले बैंकको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा बलियो बनेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images