images
images
  • नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एकमहिने निक्षेप सङ्कलन उपकरण निष्काशन गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३५ दिनका लागि उक्त उपकरण जारी गर्न लागेको हो ।

    राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिनुपर्नेछ ।

    बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप सङ्कलन गरिनेछ । साँवा तथा ब्याज भुक्तानी आगामी असोज २ गते हुने जनाइएको छ ।

    राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ ।

    रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर उल्लेख गर्ने बोललाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदर भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी माग आएमा प्रो–रेटा आधारमा बाँडफाँट गरिनेछ ।

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ ।

    स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित संस्थाको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट काटिनेछ र सङ्कलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिनेछ ।

    राष्ट्र बैंकले भुक्तानी मितिमा निर्धारण गरिएको ब्याजसहितको रकम सम्बन्धित संस्थाको खातामा जम्मा गरिने जनाएको छ । उक्त निक्षेप रकमलाई लगानी पोर्टफोलियोमा गणना गर्न नपाइने भए पनि एसएलआर तथा तरलता अनुपात गणनामा समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

    साथै, भुक्तानी मितिअघि सङ्कलित निक्षेप रकम फिर्ता लिन वा पूर्वभुक्तानी गर्न नपाइने केन्द्रीय बैंकले स्पष्ट पारेको  छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images