images
images
  • एनआईएमबी बैंक सुरक्षित रहेको राष्ट्र बैंकको स्पष्टोक्ति, दैनिक कारोबारमा समस्या नरहेको दाबी

    काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको वित्तीय अवस्था सुरक्षित रहेको र बैंकको दैनिक कारोबार तथा सेवा सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ।

    बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा मुद्दा दायर भएको विषय सार्वजनिक भएपछि सर्वसाधारणमा उत्पन्न हुन सक्ने अन्योल हटाउन राष्ट्र बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो।

    विज्ञप्तिअनुसार बैंकको तरलता अवस्था तथा वित्तीय सबलताका प्रमुख परिसूचकहरू निर्धारित मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। “बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,” राष्ट्र बैंकले जनाएको छ।

    केन्द्रीय बैंकले एनआईएमबी बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको पनि जनाएको छ। अदालतमा विचाराधीन मुद्दाको प्रकृति, समयावधि र गम्भीरतालाई ध्यानमा राखेर आगामी दिनमा सञ्चालक समिति र उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा आवश्यक कानुनी तथा नियामकीय कदम चालिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

    राष्ट्र बैंकले बैंकका निक्षेपकर्ता, लगानीकर्ता तथा अन्य सरोकारवालालाई ढुक्क हुन आग्रह गर्दै बैंकको सेवा सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको छ।

    स्मार्ट टेलिकमसँग सम्बन्धित धितो लिलामी प्रकरणपछि एनआईएमबी बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको विषयले बैंकिङ क्षेत्रमा व्यापक चासो बढेको छ। केन्द्रीय बैंकको पछिल्लो स्पष्टोक्तिले बैंकको वित्तीय स्थायित्वबारे उठेका प्रश्नलाई सम्बोधन गर्ने प्रयास गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images