images
images
  • बैंकसम्म नपुग्ने ग्राहक हाम्रो लक्ष्य : हुलास फिनसर्भका प्रमुख कार्यकारी अधिकृत ठाकुर

    काठमाडौं– हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीहरू बैंकसम्म पहुँच नपुग्ने ग्राहकलाई लक्षित गरेर काम गरिरहेको बताएका छन्।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्न सकिने क्षेत्र छुट्याएको बताए।

    उनका अनुसार हायर पर्चेज कम्पनीहरूले सवारीसाधनका साथै घरायसी सामान खरिदका लागि पनि कर्जा उपलब्ध गराउँदै आएका छन्।

    “हाम्रो लक्षित वर्ग भनेको बैंकहरूसम्म पुग्न नसक्ने ग्राहक हुन्। सानो कर्जाका ग्राहकलाई सेवा दिनु हाम्रो मुख्य उद्देश्य हो,” ठाकुरले भने।

    उनले यी कम्पनीहरूले बैंकबाट कर्जा लिएर पुनः ग्राहकलाई कर्जा प्रवाह गर्ने गरेको जानकारी दिए। हालसम्म हायर पर्चेज कम्पनीहरूले करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको उनले बताए।

    ठाकुरका अनुसार पछिल्लो समय प्रवाह भएको कर्जामध्ये करिब ८० प्रतिशत सवारीसाधन क्षेत्रमा र २० प्रतिशत मोबाइल खरिदमा गएको छ।

    उनले बैंकका औपचारिक प्रक्रिया पूरा गर्न समय लाग्ने ग्राहकका लागि पनि हायर पर्चेज कम्पनीहरू उपयोगी बन्दै गएको बताए। “केही घण्टामै कर्जा स्वीकृत गरेर सेवा दिन सकिने भएकाले ग्राहकको आकर्षण बढेको छ,” उनले भने।

    कार्यक्रममा सहभागीहरूले अटो बजार विस्तार, वित्तीय पहुँच वृद्धि र उपभोक्तामैत्री कर्जा व्यवस्थामा हायर पर्चेज कम्पनीहरूको भूमिका बढ्दै गएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images