काठमाडौं– भारतको सबैभन्दा ठूलो व्यापारिक समूह टाटा फेरि नेतृत्व र शक्ति संघर्षको केन्द्रमा पुगेको छ। टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले आफ्नो कार्यकाल सकिएपछि पुनर्नियुक्ति नलिने घोषणा गरेसँगै समूहभित्र लामो समयदेखि चलिरहेको मतभेद सतहमा आएको हो।
उनको वर्तमान कार्यकाल २०२७ फेब्रुअरी २० मा सकिँदैछ। अर्को पाँच वर्ष पनि समूहको नेतृत्व गर्ने अपेक्षा भइरहेका बेला उनले बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।
चन्द्रशेखरनका अनुसार सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टले उनको कार्यकाल थप्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेका थिए। टाटा सन्सको मनोनयन तथा पारिश्रमिक समितिले पनि उक्त प्रस्ताव अनुमोदन गरेको थियो। तर सञ्चालक समितिमा एक जना सञ्चालकले समर्थन नगरेपछि प्रस्ताव अघि बढ्न सकेन।
उनले आफ्नो वक्तव्यमा सर्वसम्मति नभएकाले निर्णय स्थगित गर्न उचित ठानेको बताएका छन्। विवाद लामो समयसम्म समाधान नहुँदा आफू पुनर्नियुक्तिका लागि प्रस्तुत नहुने जानकारी सञ्चालक समितिलाई दिएको उनले उल्लेख गरेका छन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीले उनको पूरा वक्तव्य सार्वजनिक गरेको छ। चन्द्रशेखरनले विरोध गर्ने सञ्चालकको नाम भने खुलाएका छैनन्। तर रोयटर्स र फाइनान्सियल टाइम्सले टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटाले उनको पुनर्नियुक्तिको विरोध गरेको उल्लेख गरेका छन्।
रतन टाटाको २०२४ अक्टोबरमा निधन भएपछि नोएल टाटा ट्रस्ट्सका अध्यक्ष बनेका थिए। त्यसपछि समूहको भावी दिशा, सञ्चालक नियुक्ति र स्वामित्व सम्बन्धी विषयमा मतभेद बढ्दै गएको बताइएको छ।
टाटा समूहको संरचना अन्य व्यापारिक समूहभन्दा फरक छ। समूहको प्रमुख होल्डिङ कम्पनी टाटा सन्समा विभिन्न परोपकारी टाटा ट्रस्टहरूको करिब ६६ प्रतिशत स्वामित्व छ। सर दोराबजी टाटा ट्रस्टसँग २७.९८ प्रतिशत र सर रतन टाटा ट्रस्टसँग २३.५६ प्रतिशत सेयर छ।
सबैभन्दा ठूलो अल्पमत सेयरधनी भने सापुरजी पालोनजी समूह हो, जससँग करिब १८.४ प्रतिशत सेयर छ।
विवादको अर्को केन्द्र टाटा सन्सलाई सेयर बजारमा सूचीकरण गर्ने कि नगर्ने भन्ने प्रश्न बनेको छ। भारतीय रिजर्भ बैंकले टाटा सन्सलाई माथिल्लो तहको गैरबैंकिङ वित्तीय कम्पनीको वर्गमा राखेकाले सूचीकरणको दबाब कायम छ। तर कम्पनीले आफ्नो दर्ता खारेज गर्न आवेदन दिएको छ।
सापुरजी पालोनजी समूह सूचीकरणको पक्षमा छ भने नोएल टाटा त्यसको विपक्षमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सूचीकरणपछि बाह्य लगानीकर्ताको प्रभाव बढ्ने र ट्रस्टहरूको नियन्त्रण कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
अब नयाँ अध्यक्ष छनोटका लागि पाँच सदस्यीय समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। नियमअनुसार प्रमुख टाटा ट्रस्टहरूले तीन सदस्य मनोनयन गर्नेछन्, एक सदस्य टाटा सन्स सञ्चालक समितिबाट र एक स्वतन्त्र बाह्य सदस्य हुनेछ।
नोएल टाटा स्वयं टाटा सन्सको अध्यक्ष बन्न भने सक्दैनन्। २०२२ मा संशोधन गरिएको नियमले प्रमुख टाटा ट्रस्ट र टाटा सन्सको अध्यक्ष एउटै व्यक्ति हुन नपाउने व्यवस्था गरेको छ।
यसअघि २०१६ मा तत्कालीन अध्यक्ष साइरस मिस्त्रीलाई हटाइएको थियो। यसपटक चन्द्रशेखरन कार्यकाल पूरा गरेर बाहिरिँदै छन्। तर एक दशकभित्र दुई अध्यक्षको बहिर्गमनले पुरानै प्रश्न फेरि उठाएको छ—टाटा समूहमा अन्तिम अधिकार व्यावसायिक नेतृत्वको हो कि परोपकारी ट्रस्टहरूको?


विश्व खबर 




















