काठमाडौं– पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन व्यवसायीमैत्री पर्यटन ऐन आवश्यक रहेको बताएका छन्। ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)ले आयोजना गरेको ‘पर्यटन ऐन २०८१ को मस्यौदामा पदयात्रासम्बन्धी व्यवस्था’ विषयक अन्तरक्रियामा व्यवसायीहरूले वर्तमान मस्यौदामाथि पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन्।
टानका अध्यक्ष सागर पाण्डेले प्रस्तावित मस्यौदामा नेपालको पर्वतीय पदयात्रासँग सम्बन्धित धेरै महत्वपूर्ण विषय समेटिन नसकेको बताए। उनले मुलुकको पर्यटन प्रवर्द्धनमा पदयात्रा पर्यटनको ठूलो योगदान रहेको उल्लेख गर्दै नयाँ ऐनले त्यसलाई प्राथमिकतासाथ समेट्नुपर्नेमा जोड दिए।
पर्यटन व्यवसायी निमा लामाले नेपाललाई आरोग्य, योग र स्वास्थ्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले पर्यटनसँग सम्बन्धित कानुन बनाउँदा सरोकारवाला व्यवसायी र संस्थासँग पर्याप्त परामर्श आवश्यक रहेको बताए।
वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाले ऐन व्यवसायमैत्री बनाउन मन्त्रालय र निजी क्षेत्रबीच नियमित समन्वय हुनुपर्ने बताए। दिपक महतले पर्यटन ऐनले पदयात्रा मात्रै होइन, नेपालको समग्र पर्यटन क्षेत्रलाई समेट्नुपर्ने धारणा व्यक्त गरे।
टानका पूर्वअध्यक्ष सुमन पाण्डेले प्रशासनिक जटिलता, अनुमति र नवीकरण प्रक्रियाको ढिलासुस्ती, विभिन्न निकायबीच समन्वय अभाव तथा नीतिगत अस्पष्टताले व्यवसाय सञ्चालन कठिन बनेको भन्दै नयाँ ऐनले यी समस्या समाधान गर्नुपर्ने बताए।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर ग्याल्जे शेर्पाले पर्यटन ऐन सम्पूर्ण पर्यटन क्षेत्रलाई दिशानिर्देश गर्ने कानुन भएकाले यसभित्र रहेका अस्पष्टता हटाउन पर्यटन क्षेत्रका सबै सङ्घसंस्थाबीच एकता आवश्यक रहेको बताए।
अन्तरक्रियामा टानका पूर्वअध्यक्षहरू, पूर्वमहासचिव, पर्यटन बोर्डका पूर्वपदाधिकारी तथा अन्य व्यवसायीहरूले पर्यटन ऐन पर्याप्त छलफल, सहमति र क्षेत्रगत अध्ययनपछि मात्रै ल्याउनुपर्नेमा जोड दिएका थिए।
व्यवसायीहरूले नयाँ ऐनले पर्यटन क्षेत्रमा लगानीको सुरक्षा, व्यवसाय सञ्चालनको सहज वातावरण, स्पष्ट नीतिगत व्यवस्था र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने संरचना सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार व्यवसायीमैत्री र लगानीमैत्री कानुनबिना नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रतिस्पर्धात्मक लाभ लिन कठिन हुनेछ।


विश्व खबर 




















