काठमाडौं– स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश निर्माण गर्ने लक्ष्यसहित नयाँ बजेट ल्याइएको बताएका छन् । तनहुँ भ्रमणका क्रममा बिहीबार जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै उनले विगतमा ऋण लिएर दैनिक खर्च चलाउने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न सरकार लागिपरेको बताए।
उनले राज्यको कमजोर आम्दानीका कारण ऋण लिएर अत्यावश्यक खर्च धान्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब करको दायरा फराकिलो बनाउने, कर तिर्न प्रोत्साहन गर्ने र साना–साना स्रोतबाट राजस्व बढाएर आफ्नै आम्दानीमा आधारित विकासको नीति अपनाइएको बताए।
अर्थमन्त्री वाग्लेले जनताको विकाससम्बन्धी अपेक्षा धेरै भए पनि मुलुकको आर्थिक सामर्थ्य सीमित रहेको बताए। साथै अन्तर्राष्ट्रिय दातृ निकायबाट लिने ऋण पनि महँगो बन्दै गएको अवस्थामा नेपालले आत्मनिर्भर आर्थिक आधार निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ थियो।
“ऋण लिएर ऋण र त्यसको ब्याज तिर्ने चक्रबाट बाहिर निस्कनुपर्छ। नियमित र अत्यावश्यक राज्य दायित्व करिब साढे १३ सय अर्ब रुपैयाँको छ, तर सरकारको आम्दानी करिब १२ सय ५० अर्ब रुपैयाँ हाराहारी मात्रै छ,” उनले भने।
उनले करको दायरा विस्तार गर्नुको उद्देश्य राजस्व वृद्धि र दीर्घकालीन आर्थिक स्थायित्व रहेको स्पष्ट पार्दै सर्वसाधारणलाई अन्तिम करको अतिरिक्त भार नपर्ने गरी व्यवस्था गरिएको दाबी गरे।
अर्थमन्त्री वाग्लेले ऋण पनि नलिने, कर पनि नतिर्ने तर विकास भने चाहिने भन्ने सोचबाट समाज र राजनीति दुवै माथि उठ्नुपर्ने आवश्यकता औँल्याए। सरकारको लक्ष्य करको दर बढाउनेभन्दा कर प्रणालीलाई व्यापक, न्यायोचित र सहभागी बनाउने रहेको उनले बताए।


विश्व खबर 




















