काठमाडौं– बिहीबार सेयर बजार हरियो भएर बन्द भएको छ । जलविद्युत् समूहमा लगानीकर्ताको सक्रियता बढेपछि नेप्से परिसूचक ८.८१ अंकले उकालो लागेर २६५१.२१ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन नेप्से सामान्य ०.५५ अंकले मात्रै बढेको थियो। यस दिन भने १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । समूहगत सूचकमा ठूलो उतारचढाव देखिएन। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह सामान्य रूपमा बढेका छन्। लगानी समूह भने ०.४९ प्रतिशतले घटेको छ ।
कारोबारमा जलविद्युत् समूहले बजारलाई नेतृत्व गर्यो। यस समूहमा मात्रै २ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। वाणिज्य बैंकमा ३३ करोड, उत्पादन तथा प्रशोधनमा २० करोड र लगानी समूहमा २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। सुपर खुदी हाइड्रोपावर १३.०२ प्रतिशत र घलेम्दी हाइड्रो ११.९० प्रतिशतले उकालो लागेको छ। सीवाईसी लघुवित्त र पाल्पा सिमेन्टमा पनि उल्लेख्य वृद्धि देखिएको छ । यता इमर्जिङ नेपाल ५.११ प्रतिशत, सिर्जनशील लघुवित्त ४.५३ प्रतिशत र अपर लोहोरेखोला ३.२९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र युनाइटेड मोदी हाइड्रोपावर सर्वाधिक कारोबार हुने कम्पनी बने । बजार विश्लेषकहरूका अनुसार जलविद्युत् क्षेत्रमा बढ्दो आकर्षण र कारोबार रकममा आएको सुधारले बजारमा लगानीकर्ताको मनोबल केही बलियो बनेको संकेत गरेको छ ।


विश्व खबर 




















