images
images
  • नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, विद्युतीय सवारीप्रति बढ्यो आकर्षण

    काठमाडौं– भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। एक्स्पोको दोस्रो दिन बुधबार मात्रै २६ हजारभन्दा बढीले अवलोकन गरेका छन्।

    आयोजकका अनुसार उद्घाटनको दिन २९ हजारभन्दा बढी दर्शक पुगेका थिए। यससँगै दुई दिनमै एक्स्पोमा ५५ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्।

    एक्स्पोमा विशेषगरी विद्युतीय सवारीको ब्याट्री क्षमता, मोटर, रेन्ज र बिक्रीपछिको सेवाबारे उपभोक्ताको चासो केन्द्रित भएको आयोजकले जनाएको छ। ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीहरूले मूल्य छुट, निःशुल्क बिमा तथा सर्भिसिङ, सवारी करमा सहुलियत र कम ब्याजदरमा कर्जाजस्ता सुविधा दिएका छन्।

    दोस्रो दिन विभिन्न ब्रान्डले चार नयाँ मोडल सार्वजनिक गरेका छन्। यसअघि पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक गरिएको थियो।

    हरित, दिगो र प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक पुग्ने अपेक्षा गरेको छ।

    नयाँ विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विभिन्न सहुलियत तथा विशेष अफर उपलब्ध गराइरहेका छन्।

    अटो बजारमा पछिल्लो समय देखिएको सुस्तता हट्दै गएको संकेतका रूपमा पनि यस एक्स्पोलाई हेरिएको छ। उपभोक्ताको बढ्दो उपस्थितिले विद्युतीय सवारीप्रति नेपाली बजारको रुचि तीव्र गतिमा विस्तार भइरहेको देखाएको व्यवसायीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images