काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित स्रोतसाधनका बीच पनि जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले जनताका अपेक्षा धेरै भए पनि सरकारले सक्दो ती आवश्यकता सम्बोधन गर्न प्रयास गरिरहेको बताए ।
“बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन्,” अर्थमन्त्री वाग्लेले भने, “जुन बस्तीमा पुगे पनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन र खेलमैदानको माग गर्नुहुन्छ। सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।”
उनले तनहुँको विकासका लागि आफू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै यसपटकको बजेट वितरणलाई न्यायोचित बनाउने प्रयास गरिएको बताए। तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै उनले जिल्लावासीप्रति कृतज्ञता व्यक्त गरे ।“जनताले ममाथि राख्नुभएको विश्वास र दिएको जिम्मेवारी म कहिल्यै बिर्सने छैन,” उनले भने ।
कार्यक्रममा स्थानीयवासीले दुम्सी क्षेत्रका करिब ५०० घरधुरीमा खानेपानीको समस्या रहेको जानकारी गराएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले खानेपानी र तटबन्धनसम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर काम अगाडि बढाइने आश्वासन दिए ।


विश्व खबर 




















