images
images
  • राष्ट्रिय वाणिज्य बैंकको नाफा ६१% बढ्यो, ४ अर्ब ५५ करोड कमाइ

    काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको ब्याज आम्दानीमा भएको वृद्धि र सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज घटेकाले नाफामा ठूलो सुधार आएको बैंकले जनाएको छ ।

    बैंकको खुद ब्याज आम्दानी १० अर्ब १५ करोड ३९ लाख रुपैयाँबाट १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफामा अझ तीव्र वृद्धि देखिएको छ। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

    यससँगै बैंकको वितरणयोग्य मुनाफा पनि सुधारिएको छ। अघिल्लो वर्ष ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यस वर्ष १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ । १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोष ३९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा प्रवाह ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ र निक्षेप संकलन ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

    बैंकको कुल सम्पत्तिको आकार पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ५ खर्ब ८५ अर्ब रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ७ खर्ब ७८ अर्ब रुपैयाँ नाघेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २७ पैसाबाट बढेर २९ रुपैयाँ १४ पैसा पुगेको छ। यद्यपि खराब कर्जा अनुपात ३.७९ प्रतिशतबाट सामान्य बढेर ३.९५ प्रतिशत पुगेको छ ।

    सकारात्मक पक्षमा बैंकको कोष लागत ३.३३ प्रतिशतबाट घटेर २.९६ प्रतिशतमा झरेको छ, जसले बैंकको वित्तीय दक्षतामा सुधार आएको संकेत गर्छ । विश्लेषकहरूका अनुसार सरकारी बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकले यस वर्ष देखाएको नाफा वृद्धि, सञ्चालन मुनाफामा आएको तीव्र सुधार र वितरणयोग्य मुनाफाको धनात्मक अवस्थामा फर्किनु आगामी लाभांश क्षमताका दृष्टिले पनि महत्वपूर्ण संकेत मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images