काठमाडौं– यातायात व्यवस्था कार्यालय, धनगढीले आर्थिक वर्ष २०८२/०८३ मा ७७ करोड ५१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा करिब दुई करोड रुपैयाँले वृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख भुवन जोशीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७५ करोड ५६ लाख २७ हजार ३५५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष १ करोड ९५ लाख २ हजार ३६५ रुपैयाँ बढी राजस्व उठेको हो ।
सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारीसाधन करबाट आएको छ। यस शीर्षकबाट मात्रै ५९ करोड ३७ लाख १४ हजार ३८० रुपैयाँ उठेको कार्यालयले जनाएको छ ।
चालक अनुमतिपत्र र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १६ करोड ५५ लाख ८९ हजार ७४५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै लगतकट्टा, प्रदूषण परीक्षण र रुट इजाजतलगायत यातायात क्षेत्रका सेवाबाट १ करोड ४१ लाख १३ हजार ८३५ रुपैयाँ प्राप्त भएको छ ।
व्यवसाय दर्ता दस्तुरबाट १६ लाख ७८ हजार २२० रुपैयाँ उठेको छ भने अन्य प्रशासनिक सेवा शुल्कबाट सबैभन्दा कम १ हजार ४ सय रुपैयाँ मात्रै सङ्कलन भएको कार्यालयले जनाएको छ । बिमा दाबी प्राप्ति शीर्षकमा ३२ हजार १४० रुपैयाँ आम्दानी भएको छ ।
यातायात कार्यालयले सवारी दर्ता, कर सङ्कलन, अनुमतिपत्र सेवा तथा अन्य यातायातसम्बन्धी सेवाको विस्तारसँगै राजस्वमा वृद्धि भएको जनाएको छ। कार्यालयका अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने काम जारी रहेको छ ।


विश्व खबर 




















