काठमाडौं– देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो ।
अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। बीमाशुल्क र कुल आम्दानी बढे पनि दाबी भुक्तानी र खर्च तीव्र रूपमा बढ्दा नाफामा दबाब परेको देखिएको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशतले बढेको छ। त्यस्तै कुल आम्दानी पनि ८.८२ प्रतिशतले वृद्धि भएको छ। तर खुद दाबी भुक्तानी ९.५२ प्रतिशत र कुल खर्च १०.१२ प्रतिशतले बढेपछि नाफा घटेको हो ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि कमजोर भएको छ। अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ १६ पैसा घटेर प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५२.७० गुणा पुगेको छ, जसले बजार मूल्यको तुलनामा आम्दानी कमजोर रहेको संकेत गर्छ ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल लाइफको महाविपत्ती कोषमा १ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। कम्पनीको रिटेन्ड अर्निङ्ग ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटी १२ करोड ९० लाख रुपैयाँ रहेको छ ।
विश्लेषकहरूका अनुसार बीमा व्यवसाय विस्तार भइरहे पनि दाबी भुक्तानी र सञ्चालन खर्च नियन्त्रण गर्न नसक्दा नेपाल लाइफको नाफामा दबाब परेको हो। आगामी त्रैमासमा कम्पनीले लागत व्यवस्थापन र लगानी प्रतिफल सुधार गर्न सके नाफा पुनः बढ्न सक्ने अपेक्षा गरिएको छ।


विश्व खबर 




















