images
images
  • घट्दो ब्याजदरबीच नागरिक लगानी कोषको नाफा ७.७२% बढ्यो, खुद कोष मौज्दात ३ खर्ब ३६ अर्ब

    काठमाडौं– बजारमा तरलता अधिक भएर ब्याजदर लगातार घटिरहेको अवस्थामा पनि नागरिक लगानी कोष (सीआईटी) ले नाफा बढाउन सफल भएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कोषको खुद नाफा ७.७२ प्रतिशतले वृद्धि भई १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुगेको हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको कुल आम्दानी पनि ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेवा शुल्क तथा कमिसनबाट १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानीबाट ३६ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ ।

    कोषको व्यवस्थापनमा रहेको रकम निरन्तर बढिरहेको देखिन्छ । वित्तीय विवरणअनुसार खुद कोष मौज्दात ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने विभिन्न क्षेत्रहरूमा गरिएको कुल लगानी ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

    वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ । कोषको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    यद्यपि, लगानी  प्रतिफलमा भने दबाब देखिएको छ । बजारमा तरलता बढेपछि मुद्दती निक्षेपको ब्याजदर घटेकाले कोषको समग्र लगानी प्रतिफल अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा सीमित भएको छ ।

    कोषले सफ्टवेयर एकीकरण, डिजिटल सेवा विस्तार र लगानी विविधीकरणलाई प्राथमिकता दिएको जनाएको छ । घट्दो ब्याजदरको वातावरणमा पनि सहभागीलाई सुरक्षित र आकर्षक प्रतिफल दिन दीर्घकालीन रणनीति अघि बढाइएको कोषको भनाइ छ ।

    विश्लेषकहरूका अनुसार नाफा र आम्दानी दुवै बढ्नु सकारात्मक भए पनि लगानी प्रतिफलमा आएको गिरावटले आगामी वर्षहरूमा कोषले वैकल्पिक लगानीका अवसर खोज्नुपर्ने संकेत गरेको छ । डिजिटल रूपान्तरण र सेवा चुस्ततामा भइरहेको सुधारले भने सहभागीहरूको पहुँच र विश्वास बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images