काठमाडौं– निर्माण क्षेत्र सुस्त, उत्पादन लागत उच्च र आर्थिक गतिविधि कमजोर रहेका बेला सर्वोत्तम सिमेन्ट लिमिटेडले भने उल्लेखनीय वित्तीय सुधार देखाएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले बिक्री, नाफा र प्रतिशेयर आम्दानी सबैमा वृद्धि हासिल गरेको छ ।
कम्पनीको सञ्चालन आम्दानी एक वर्षमै ७.५६ प्रतिशतले बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक मन्दीबीच आम्दानी १० अर्ब नाघ्नु कम्पनीका लागि सकारात्मक संकेत मानिएको छ ।
सर्वोत्तम सिमेन्टको खुद नाफा पनि ७.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब २ करोड ८२ लाख रुपैयाँ रहेको नाफा गत आर्थिक वर्ष १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीले लागत नियन्त्रण र वित्तीय खर्च घटाउन सफल भएकाले नाफामा सुधार देखिएको विश्लेषण गरिएको छ ।
कुल नाफामा झन् तीव्र वृद्धि देखिएको छ। कम्पनीको कुल नाफा १५.६२ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब रुपैयाँ थियो।
वित्तीय खर्च घट्नु कम्पनीका लागि ठूलो राहत बनेको छ। अघिल्लो वर्ष २९ करोड ६२ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ। यसले खुद नाफा वृद्धिमा प्रत्यक्ष योगदान दिएको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। जगेडा कोष ४ अर्ब ८७ करोड र पुनःमूल्याङ्कन कोष ३३ करोड ६८ लाख रुपैयाँ रहेको छ। कुल इक्विटी १० अर्ब ४३ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
सर्वोत्तम सिमेन्टको दीर्घकालीन ऋण अत्यन्त न्यून अर्थात् २ करोड २९ लाख रुपैयाँ मात्र रहेको छ। यद्यपि अल्पकालीन ऋण भने ३ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल सम्पत्ति १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी २१ रुपैयाँ २० पैसा र प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा पुगेको छ, जसले उद्योग क्षेत्रका सूचीबद्ध कम्पनीहरूमध्ये सर्वोत्तम सिमेन्टको वित्तीय आधार बलियो रहेको संकेत गर्छ।
कम्पनीले भारतीय बजारमा निर्यात विस्तार गर्ने र उत्पादन लागत नियन्त्रण गर्ने रणनीति अघि बढाएको जनाएको छ। विश्लेषकहरूका अनुसार यदि निर्यात विस्तार र लागत व्यवस्थापन प्रभावकारी रूपमा अगाडि बढ्यो भने आगामी वर्ष कम्पनीको नाफामा थप सुधार देखिन सक्छ ।
निर्माण क्षेत्रको सुस्त बजारमा पनि १० अर्बभन्दा बढी आम्दानी र १ अर्बभन्दा बढी नाफा कमाउन सफल सर्वोत्तम सिमेन्टलाई अहिले लगानीकर्ताले स्थिर र बलियो औद्योगिक कम्पनीका रूपमा हेर्न थालेका छन् ।


विश्व खबर 




















