काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा, निक्षेप, कर्जा तथा जोखिम व्यवस्थापनका प्रमुख सूचकमा उल्लेखनीय सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकले १ अर्ब ९५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १० करोड रुपैयाँमा सीमित रहेको थियो भने २०८०/८१ मा १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। पछिल्लो नतिजाले बैंकको नाफामा ऐतिहासिक उछाल आएको देखिएको छ।
निक्षेप संकलनतर्फ पनि बैंकले पुनरुत्थान देखाएको छ। २०८०/८१ मा ६७ अर्ब ५५ करोड रुपैयाँ निक्षेप रहेको बैंकको निक्षेप २०८१/८२ मा घटेर ६१ अर्ब ८३ करोड रुपैयाँ पुगेको थियो। हाल २०८२/८३ को अन्त्यसम्म बैंकले पुनः ६७ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ।
कर्जा प्रवाहमा पनि सुधार देखिएको छ। २०८०/८१ मा ५३ अर्ब ७५ करोड रुपैयाँ रहेको कर्जा २०८१/८२ मा ५१ अर्ब १३ करोड रुपैयाँमा झरेको थियो। पछिल्लो विवरणअनुसार बैंकले ५३ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
निष्क्रिय कर्जामा विगतको तुलनामा केही सुधार आएको बैंकको तथ्यांकले देखाएको छ। २०८०/८१ मा ५.२९ प्रतिशत रहेको निष्क्रिय कर्जा २०८१/८२ मा बढेर ७.७५ प्रतिशत पुगेको थियो। हाल चौथो त्रैमाससम्म आइपुग्दा यसलाई घटाएर ६.५५ प्रतिशतमा झारिएको छ।
निष्क्रिय कर्जाविरुद्धको प्रोभिजनिङ व्यवस्था पनि मजबुत बनेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म ९९.६९ प्रतिशत रहेको यो अनुपात बढेर १०१.९३ प्रतिशत पुगेको छ, जसले बैंकको जोखिम व्यवस्थापन क्षमता सुदृढ भएको संकेत गर्छ।
पूँजी पर्याप्तता अनुपातमा पनि क्रमिक सुधार देखिएको छ। २०८०/८१ मा १२.३९ प्रतिशत रहेको यो अनुपात २०८१/८२ मा १३.८४ प्रतिशत र हाल १४.०५ प्रतिशत पुगेको छ। यो नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा माथि रहेको बैंकले जनाएको छ।
त्यस्तै, बैंकको कोषको लागतमा उल्लेखनीय गिरावट आएको छ। २०८१/८२ मा ४.९९ प्रतिशत रहेको कोषको लागत घटेर ३.७६ प्रतिशतमा झरेको छ। कोषको लागत घट्दा आधार दर कम गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ।
विगत तीन वर्षका वित्तीय सूचकको तुलनात्मक अध्ययन गर्दा ज्योति विकास बैंकले निक्षेप संकलन, कर्जा विस्तार र जोखिम व्यवस्थापनमा सुधार गर्दै पुनः बलियो वित्तीय अवस्थातर्फ अग्रसर भएको देखिएको छ।


विश्व खबर 




















