काठमाडौं– काजकिस्तानमा सम्पन्न ‘इन्टरनेसनल ओलम्पियाड इन आर्टिफिसियल इन्टेलिजेन्स’ (आईओएआई) को तेस्रो संस्करणमा नेपालले पहिलो पटक पदक जितेको छ । प्रतिस्पर्धामा नेपालका सिद्धान्त चतुर्वेदीले कास्य पदक जितेका हुन्। ८ अगस्टमा सम्पन्न प्रतियोगितामा विश्वका ९७ देशका करिब ४०० विद्यार्थी सहभागी थिए ।
नेपालका तर्फबाट सहभागी अन्य तीन विद्यार्थी प्रसिद्ध मैनाली, पिताम्बर लामिछाने र आयुष यादवले ‘अनरेबल मेन्सन’ सम्मान प्राप्त गरेका छन् । चारै विद्यार्थी काठमाडौँको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट हालै कक्षा १२ उत्तीर्ण गरेका हुन् । नेसनल एआई ओलम्पियाडका सह–संस्थापक चन्दन गुप्ताका अनुसार अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी नेपालको सम्पूर्ण टोलीले पदक वा सम्मान प्राप्त गरेको यो पहिलो र दुर्लभ अवसर हो ।
यसअघि बुल्गेरिया र चीनमा आयोजना भएका अघिल्ला दुई संस्करणमा नेपाल सहभागी भए पनि पदक जित्न सकेको थिएन । नेपाली टोलीले रोबोटिक्स प्रतिस्पर्धा तथा दुई दिनसम्म चलेको व्यक्तिगत प्रतिस्पर्धामा उल्लेखनीय प्रदर्शन गरेको थियो । टोलीको नेतृत्व आयुष अधिकारीले गरेका थिए भने व्यवस्थापकका रूपमा चन्दन गुप्ता सहभागी थिए। विद्यार्थीहरूलाई एआई कम्पनी फ्युजमेसिन्सले प्राविधिक तालिम प्रदान गरेको थियो ।
गुप्ताका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि देशभरका सातै प्रदेशबाट विद्यार्थी समेट्ने प्रयास गरिएको थियो। प्रारम्भिक चरणमा ३०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए भने अन्तिम १७ जनामध्येबाट चार जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो ।
उनले आगामी वर्षदेखि आयोजकबाट पाइँदै आएको हवाई टिकट र दर्ता शुल्कमा सहुलियत घट्न सक्ने संकेत गर्दै एआई क्षेत्रमा नेपाली विद्यार्थीको सम्भावना उच्च भएकाले सरकारको सहयोग आवश्यक रहेको बताए । ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत एआई तालिम र प्रतिस्पर्धामा सहभागी गराउन थप लगानी आवश्यक पर्ने उनले उल्लेख गरे। गुप्ताले प्रविधि क्षेत्रमा सरकारको चासो र लगानी बढे भविष्यमा नेपालले अझ ठूला अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।


विश्व खबर 




















