काठमाडौं– कृषि विकास कार्यालय तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि ५ लाख ६९ हजार रुपैयाँ अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार यस कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कार्यक्रममार्फत ६ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तला बगैँचा विस्तार हुने भएको छ । उक्त कार्यक्रमबाट सात वटा सहकारी तथा समूहमा आबद्ध १ सय २९ जना कृषक लाभान्वित भएका छन् ।
कार्यालयका अनुसार नयाँ बगैँचामा लगाइएका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछि वार्षिक करिब २ सय मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यसले जिल्लामा सुन्तलाको उत्पादन क्षेत्र विस्तार हुनुका साथै कृषकको आयआर्जनमा पनि सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, कार्यालयले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम पनि सञ्चालन गरेको छ। ५० हेक्टर क्षेत्रफलका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २८ लाख ९९ हजार रुपैयाँ खर्च भएको अधिकारीले जानकारी दिए ।
सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पहिलेदेखि रहेका १ हजार ७ सय ७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको उनले बताए ।


विश्व खबर 




















