काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार जारी शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिने उल्लेख गरेका छन्।
मुख्यमन्त्री आचार्यले युवा रोजगारी खोज्ने मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बन्नुपर्ने धारणा व्यक्त गरे। “युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको छ,” उनले भने, “नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।”
उनले युवाको उद्यमशीलता प्रवर्द्धन गर्न ब्याज अनुदानलगायत प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रम बजेटमार्फत समेत सम्बोधन गरिएको जानकारी दिए।
मुख्यमन्त्री आचार्यले राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवा वर्तमानका साझेदार भएको उल्लेख गर्दै युवाको सिर्जनशीलता र नवीन सोचलाई विकास र समृद्धिको आधारका रूपमा लिनुपर्ने बताए। प्रदेश सरकारले युवा लक्षित उद्यमशीलता, उत्पादन र स्वरोजगार कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।


विश्व खबर 




















