काठमाडौं– तनहुँका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग र सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यास अभाव भएको जानकारी प्राप्त भएपछि चितवनस्थित सम्बन्धित ग्यास उद्योगसँग प्रत्यक्ष सम्पर्क गरी तनहुँमा आपूर्ति बढाउन आग्रह गरिएको हो। उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योगसँग आवश्यक समन्वय गरिएको उनले बताए।
दमौली क्षेत्रमा पनि ग्यास आपूर्तिमा समस्या देखिएपछि तीन जना ग्यास डिलरका सञ्चालकले प्रशासनलाई प्रत्यक्ष जानकारी गराएका थिए। त्यसलगत्तै प्रजिअ तिवारीले सम्बन्धित उद्योगसँग दमौलीका लागि थप ग्यास उपलब्ध गराउन आग्रह गरेका छन्।
उनका अनुसार ग्यासको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा केही स्थानमा उपभोक्ताले अभाव झेल्नुपरेको अवस्था सिर्जना भएको छ। समस्या समाधानका लागि स्थानीय तहमा मात्र नभई सङ्घीय तहमा समेत समन्वय गरिएको उनले जानकारी दिए।
प्रशासनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवसँग पनि कुराकानी गरी तनहुँको ग्यास आपूर्तिको अवस्थाबारे जानकारी गराएको छ। जिल्लामा देखिएको अभाव, डिलरहरूले भोगिरहेको आपूर्ति समस्या र उपभोक्ताले ग्यासका लागि भोग्नुपरेको कठिनाइबारे जानकारी गराउँदै आपूर्ति बढाउने गरी आवश्यक पहल गर्न आग्रह गरिएको प्रजिअ तिवारीले बताए।
उनले खाना पकाउने ग्यास सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले जिल्लामा नियमित र सहज आपूर्ति सुनिश्चित गर्न प्रशासन निरन्तर सक्रिय रहेको बताए।
यसैबीच, प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने वा कालोबजारी गर्ने गतिविधि हुन नदिन निगरानीसमेत बढाइने जनाएको छ।
ग्यास आपूर्ति व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि उद्योग, डिलर र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रशासनको निष्कर्ष छ।


विश्व खबर 




















