images
images
  • युट्युबको नयाँ नियम : मनिटाइजेसनका सर्त दोब्बर, नयाँ सर्जकलाई चुनौती

    काठमाडौं– युट्युबले आफ्नो पार्टनर कार्यक्रम (युट्युब पार्टनर प्रोग्राम) को मनिटाइजेसन मापदण्डमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ। नयाँ नियम आगामी फेब्रुअरी १ देखि लागू हुनेछन् र विशेषगरी नयाँ च्यानलहरूका लागि आम्दानीको बाटो पहिलेभन्दा निकै कठिन हुने भएको छ।

    युट्युबका अनुसार एक हजार सब्स्क्राइबरको सर्त भने यथावत् रहनेछ। तर मनिटाइजेसनका लागि पूरा गर्नुपर्ने वाच टाइम र सट्र्स भ्युजको सीमा दोब्बर बनाइएको छ।

    लामो भिडियो (लङ–फर्म कन्टेन्ट) का लागि पछिल्लो १२ महिनामा चार हजार घन्टा वाच टाइम आवश्यक पर्ने व्यवस्था अब बढाएर आठ हजार घन्टा पुर्‍याइएको छ।

    त्यस्तै, सट्र्स भिडियोतर्फ पछिल्लो ९० दिनमा एक करोड भ्युजको सर्तलाई बढाएर दुई करोड भ्युज बनाइएको छ।

    यसले नयाँ सर्जकहरूलाई पार्टनर कार्यक्रममा प्रवेश गर्न पहिलेभन्दा बढी मेहनत गर्नुपर्ने देखिएको छ।

    यद्यपि, यसअघि नै युट्युब पार्टनर कार्यक्रममा आबद्ध भइसकेका पुराना च्यानलहरूको मनिटाइजेसनमा भने कुनै परिवर्तन नहुने युट्युबले जनाएको छ।

    चार हजार घन्टा वाच टाइम पूरा गरिसकेका तर अझै आवेदन नदिएका च्यानलहरूका लागि आगामी जनवरी ३१ अन्तिम समयसीमा हुनेछ। त्यसपछि आवेदन दिनेहरूमा नयाँ नियम लागू हुनेछ।

    फ्यान फन्डिङ, सपिङ र क्रिएटर पार्टनरसिपजस्ता सुविधाका लागि भने पुरानै मापदण्ड कायम राखिएको छ। ती सुविधाका लागि पाँच सय सब्स्क्राइबर, पछिल्लो ९० दिनमा तीन सार्वजनिक अपलोड र तीन हजार घन्टा वाच टाइम वा ३० लाख सट्र्स भ्युज पर्याप्त हुनेछन्।

    युट्युबले सट्र्स आम्दानीमा पनि नयाँ व्यवस्था लागू गरेको छ। अब सट्र्स राजस्व निरन्तर प्राप्त गर्न प्रत्येक महिना पछिल्लो ९० दिनमा कम्तीमा एक करोड योग्य भ्युज कायम राख्नुपर्नेछ। सीमा तल झरेमा सट्र्सको आम्दानी अस्थायी रूपमा रोकिनेछ, तर पुनः मापदण्ड पूरा गरेपछि स्वतः सुरु हुनेछ। लामो भिडियोको आम्दानीमा भने यसको असर पर्ने छैन।

    पुराना साझेदारहरूका लागि पनि नयाँ सर्त स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ। जनवरी ३१ भित्र युट्युब स्टुडियोमा गएर नयाँ सर्त स्वीकार नगरे फेब्रुअरी १ देखि मनिटाइजेसन अस्थायी रूपमा रोकिनेछ। पछि सर्त स्वीकार गरेलगत्तै आम्दानी पुनः सुचारु हुनेछ।

    साथै, च्यानल सक्रिय राख्न नयाँ गतिविधि नियम पनि लागू गरिएको छ। अब ३६५ दिनमा कम्तीमा एक हजार घन्टा वाच टाइम वा १० लाख सट्र्स भ्युज, वा ९० दिनभित्र दुई वटा लामो भिडियो अथवा पाँच वटा सट्र्स अपलोड गर्नुपर्नेछ।

    डिजिटल सर्जकहरूका अनुसार नयाँ नियमले गुणस्तरीय सामग्रीलाई प्रोत्साहन गर्न सक्ने भए पनि साना तथा नयाँ सर्जकहरूका लागि मनिटाइजेसनको यात्रा थप चुनौतीपूर्ण बन्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images