images
images
  • मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, प्रसारण लाइन र सबस्टेसनलाई उच्च प्राथमिकता

    काठमाडौं– मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण संरचना र औद्योगिक क्षेत्रमा देखिँदै आएको आपूर्ति चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ ।

    मन्त्रालयले तत्कालीन माग पूरा गर्ने मात्र नभई भविष्यमा उद्योग, व्यवसाय र घरेलु उपभोक्ताबाट थपिने विद्युत् मागलाई धान्न सक्ने गरी प्रसारण पूर्वाधार विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको जनाएको छ ।

    ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार धनुषामा निर्माणाधीन ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना महत्वपूर्ण चरणमा पुगेको छ। करिब २४ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको उनले बताए ।

    बालगंगा सबस्टेसनमा निर्माण र उपकरण जडानको काम तीव्र गतिमा भइरहेको छ । मन्त्री श्रेष्ठले दशैंअघि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ मन्त्रालयले नियमित अनुगमन र समन्वय गरिरहेको जानकारी दिए ।

    आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना, नगराइन तथा धनुषा जिल्लाको समग्र वितरण प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाअन्तर्गत हंसपुर नगरपालिका–९ मा ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन निर्माण भइरहेको छ।

    सिरहा–सप्तरीमा नयाँ प्रसारण संरचना

    मधेस प्रदेशको विद्युत् प्रणालीमा ३३ केभी र ११ केभी वितरण लाइनमा बढ्दो भार मुख्य चुनौती बनेको छ। यसलाई ध्यानमा राख्दै लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

    करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइन र सुखीपुरमा १३२/३३/११ केभी सबस्टेसन निर्माण हुने यस आयोजनाको लागत करिब १ अर्ब ५३ करोड रुपैयाँ रहने अनुमान छ। सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ भने जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    सप्तरीमा रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना पनि अघि बढाइएको छ। करिब १८ किलोमिटर प्रसारण लाइन र नयाँ सबस्टेसन निर्माण हुने यस आयोजनाको लागत करिब १ अर्ब ५६ करोड रुपैयाँ रहने अनुमान छ। अध्ययन तथा पूर्वतयारीका अधिकांश काम सम्पन्न भइसकेका छन्।

    रौतहटमा ३७ किलोमिटर प्रसारण लाइन

    रौतहटको मध्य तथा दक्षिणी क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्न चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

    चन्द्रनिगाहपुरदेखि यमुनामाई गाउँपालिका–४ सरुअठासम्म करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुई र २४ एमभीएका दुई ट्रान्सफर्मर जडान गरिने योजना छ।

    आयोजनाको करिब ९३ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्झौता भइसकेको छ। निर्माण अवधि ३० महिना तोकिएको छ भने वन क्षेत्रको स्वीकृति र केही जग्गा अधिग्रहण प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ।

    बारा–पर्साका उद्योगलाई लक्षित उच्च क्षमताको लाइन

    बारा–पर्सा औद्योगिक करिडोरको बढ्दो विद्युत् मागलाई ध्यानमा राख्दै हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

    परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर चार सर्किट प्रसारण लाइन, नयाँ सबस्टेसन र बे विस्तार यस आयोजनाका मुख्य काम हुन्। चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको छ र आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    गुणस्तर र विश्वसनीयता सुधार हुने अपेक्षा

    मन्त्रालयका अनुसार नयाँ प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मधेस प्रदेशमा विद्युत्को गुणस्तर र विश्वसनीयता सुधार हुनेछ। औद्योगिक विस्तार, नयाँ लगानी र भविष्यको ऊर्जा माग व्यवस्थापनका लागि आवश्यक पूर्वाधार तयार हुने विश्वास सरकारको छ।

    निर्माणाधीन आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गराउन मन्त्रालयले नियमित अनुगमन, समन्वय र सहजीकरण गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images