images
images
  • सानो–सानो रेमिटेन्सलाई राष्ट्रिय पूँजीमा रूपान्तरण गर्ने अभियान : आर. के. शर्मा

    काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष आर. के. शर्माले विदेशमा रहेका नेपालीले पठाउने सानो–सानो रेमिटेन्सलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने अभियान अघि बढेको बताएका छन् ।

    बुधबार जारी विज्ञप्तिमा शर्माले नेपाल डेभलपमेन्ट फन्ड स्थापनाको प्रक्रिया मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै महत्वपूर्ण चरणमा प्रवेश गरेको उल्लेख गर्दै गैरआवासीय नेपालीलाई नेपालको विकासका साझेदार र लगानीकर्ताका रूपमा जोड्ने आधार तयार भएको बताए ।

    उनका अनुसार प्रस्तावित फन्डको शेयर संरचना तथा सार्वजनिक निष्कासनको व्यवस्था यस्तो हुने गरी अघि बढाइएको छ, जसअन्तर्गत गैरआवासीय नेपालीले समेत आवेदन दिएर लगानी गर्न सक्नेछन् । उनले यसलाई स्वागतयोग्य उपलब्धि बताएका छन् ।

    शर्माले सन् २०२१ देखि नेपाल डेभलपमेन्ट फन्डको दर्ता तथा संस्थागत प्रक्रिया अघि बढाइएको जानकारी दिँदै यसको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीको सानो–सानो बचतलाई एकीकृत गरी ठूलो राष्ट्रिय पूँजी निर्माण गर्नु रहेको बताए ।

    विशेषगरी मध्यपूर्व, मलेसियालगायतका मुलुकमा श्रम गरेर रेमिटेन्स पठाउने लाखौँ नेपालीलाई राष्ट्र निर्माणमा लगानीकर्ताका रूपमा जोड्न सामूहिक संयन्त्र आवश्यक रहेको उनको भनाइ छ ।

    प्रस्तावित फन्ड प्रारम्भिक रूपमा १० अर्ब रुपैयाँको हुने उल्लेख गर्दै शर्माले यसलाई सोही रकममा सीमित नराखी क्रमशः विस्तार गर्ने लक्ष्य रहेको बताए। फन्डमार्फत रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन, पूर्वाधार विकास तथा दीर्घकालीन आर्थिक समृद्धिसँग सम्बन्धित उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने आधार तयार हुने उनले उल्लेख गरे।

    “रेमिटेन्सको खर्चलाई बचतमा, बचतलाई लगानीमा र लगानीलाई राष्ट्र निर्माणमा रूपान्तरण गर्ने अभियान अब अझ संस्थागत रूपमा अघि बढ्नेछ,” शर्माले विज्ञप्तिमा भनेका छन्।

    उनले १० अर्ब रुपैयाँबाट सुरु हुने फन्डको यात्रा भविष्यमा लाखौँ गैरआवासीय नेपालीको बचत जोडेर खर्बौँको राष्ट्रिय पूँजी निर्माण गर्ने अभियान बन्न सक्ने विश्वास व्यक्त गरे।

    नेपाल डेभलपमेन्ट फन्डको प्रक्रिया अघि बढाउन महत्वपूर्ण निर्णय गरेको भन्दै शर्माले नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्। साथै, प्रारम्भिक अवधारणादेखि हालसम्म साथ, सहयोग र विश्वास गर्ने एनआरएनएका अभियन्ता, सहकर्मी, सरोकारवाला तथा सहयोगीलाई धन्यवाद दिएका छन्।

    शर्माले “सानो–सानो रेमिटेन्स, ठूलो राष्ट्रिय पूँजी”को अवधारणामार्फत गैरआवासीय नेपालीलाई नेपालको समृद्धिको बलियो साझेदारका रूपमा अघि बढाउने लक्ष्य रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images