काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्ति, वितरण र ढुवानी प्रक्रियालाई पारदर्शी तथा प्रभावकारी बनाउन सरकारले अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताएकी छन् ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित संरक्षण समितिले बुधबार आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री गौरीकुमारीले अहिले परीक्षणका रूपमा गुगल फारममार्फत ग्याससम्बन्धी विवरण सङ्कलन गरी सार्वजनिक गर्न थालिएको जानकारी दिइन् ।
उनले उपभोक्ताले ग्यासको वास्तविक अवस्था, ढुवानी र वितरणबारे सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न सरकार लागिपरेको बताइन् ।
मन्त्री गौरीकुमारीका अनुसार सिंहदरबार परिसरमा साउन २८ गतेदेखि खाद्य संस्थानको स्टलमार्फत खाद्यान्न बिक्री वितरण सुरु गरिनेछ । यसले सरकारी खाद्यान्न सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्रै ग्यास आपूर्ति सहज हुने दाबी गरे। उनले मंगलबार मात्र १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएको जानकारी दिए ।
उनका अनुसार साउन २६ गतेसम्म कुल ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिसकेको छ । पछिल्लो समय देखिएको आपूर्ति चाप क्रमशः घट्दै गएको र बजारमा ग्यासको उपलब्धता सुधार हुने निगमको दाबी छ ।
छलफलमा उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितताबाट जोगाउन प्रविधिमा आधारित निगरानी प्रणाली आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।


विश्व खबर 




















