images
images
  • कुमारी बैंकको खुद नाफामा ३०६ प्रतिशतको उछाल, साढे ७ अर्ब रुपैयाँ नाफा

    काठमाडौं– कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले सो अवधिसम्म ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकका अनुसार खुद ब्याज आम्दानीमा वृद्धि हुनु तथा इम्पेरमेन्ट चार्ज रिभर्स हुनुले नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशतले वृद्धि भएको छ ।

    त्यस्तै, कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ । यसकै प्रभावले सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा कायम भएको छ ।

    नाफासँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ ।

    बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ७.४५ गुणा कायम भएको छ ।

    हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।

    असार मसान्तसम्म बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानीमा देखिएको तीव्र वृद्धि तथा इम्पेरमेन्ट चार्ज रिभर्स भएको अवस्थालाई विश्लेषकहरूले कुमारी बैंकको वित्तीय सुधारको सकारात्मक संकेतका रूपमा लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images