काठमाडौं– महिनावारीका कारण छात्राको पढाइ प्रभावित हुने समस्या न्यूनीकरण गर्न नबिल बैंकले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान अभियान सञ्चालन गरेको छ । बैंकले ‘नबिल सिक्योरिङ हेल्थ एन्ड इम्पावरमेन्ट’ (एसएचई) परियोजनाअन्तर्गत सञ्चालन गरेको अभियानबाट हालसम्म ५० हजारभन्दा बढी छात्रा लाभान्वित भएको जनाएको छ ।
बैंकका अनुसार हालसम्म सातै प्रदेशका १०४ सामुदायिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान भइसकेको छ । परियोजनाको उद्देश्य छात्राले महिनावारीका समयमा आवश्यक सामग्री सहज रूपमा प्राप्त गर्न सकून् र पढाइमा अवरोध नहोस् भन्ने रहेको बैंकले जनाएको छ ।
महिनावारीका विषयमा अझै पनि समाजमा खुलेर कुरा गर्न सहज वातावरण नहुँदा धेरै छात्राले विद्यालयमा स्यानिटरी प्याड माग्नसमेत अप्ठ्यारो मान्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किशोरी महिनावारी भएका बेला विद्यालय नजाने वा विद्यालय पुगेपछि घर फर्किने अवस्था रहेको विभिन्न अध्ययनले देखाएको छ ।
यही समस्या समाधानका लागि विद्यालयमा छात्राले आवश्यक परेको समयमा आफैं स्यानिटरी प्याड निकाल्न सक्ने व्यवस्था गरिएको नबिल बैंकले जनाएको छ ।
सिराहाको जनता माध्यमिक प्राविधिक विद्यालयमा अध्ययनरत कञ्चनकुमारी मण्डलका अनुसार पहिले विद्यालयमा प्याड भए पनि माग्न लाज लाग्ने समस्या थियो । “मिससँग त माग्न सकिन्थ्यो, तर सरहरू हुँदा असहज हुन्थ्यो,” उनले भनिन्, “भेन्डिङ मेसिन राखिएपछि चाहिएको बेला आफैं प्याड लिन मिल्ने भएकाले समस्या हटेको छ ।”
कैलालीको श्री जन जागृति माध्यमिक विद्यालयकी पवित्रा चौलागाईंले पनि भेन्डिङ मेसिनपछि महिनावारीका कारण विद्यालय नआउने समस्या कम भएको बताइन् । “हामी सिधै मेसिनबाट प्याड लिन्छौँ, अब पढाइ छुट्ने अवस्था कम भएको छ,” उनले भनिन् ।
नबिल बैंकका नायब कार्यकारी अधिकृत आदर्श बजगाईंले परियोजनाले लैंगिक समानता र छात्राको शैक्षिक निरन्तरतामा योगदान पुर्याउने बताए । “छात्राहरूले निर्वाध रूपमा पढ्न पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो,” उनले भने, “भेन्डिङ मेसिनपछि महिनावारीसम्बन्धी सामग्रीको अभावका कारण पढाइ छुट्ने अवस्था घटेको छ ।”
बैंकले परियोजनाको दोस्रो चरण पनि सुरु गरेको जनाएको छ । दोस्रो चरणमा देशभरका २४८ विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने लक्ष्य राखिएको छ, जसबाट करिब एक लाख २० हजार छात्रा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कास्कीको बेगनासस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयकी शिक्षिका कमला शर्माका अनुसार विद्यालयभित्रै आवश्यक सामग्री सहज रूपमा उपलब्ध भएपछि छात्रा बढी आत्मविश्वासी बनेका छन् । “चाहेको समयमा प्याड लिन पाउने भएपछि उनीहरू बिना अवरोध कक्षामा सहभागी हुन थालेका छन्,” उनले भनिन् ।
‘बिना लाज, बिना रोक’ नारासहित सञ्चालन गरिएको एसएचई परियोजनाले महिनावारी व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउँदै छात्रालाई पढाइमा निरन्तरता दिन सहयोग पुर्याउने विश्वास नबिल बैंकले व्यक्त गरेको छ ।


विश्व खबर 




















