काठमाडौं– धनकुटास्थित भेडेटारमा सञ्चालनमा रहेको स्काइवाक पछिल्लो समय कोशी प्रदेशकै नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएकाले यहाँ दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।
वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको स्काइवाकमा दुई वर्षको अवधिमा तीन लाख नौ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । तीमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् ।
स्काइवाकसँगै फ्रि फल जम्प र स्विङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा छन् । परियोजनाका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले आगामी दिनमा स्काइ साइकलिङ, जिपलाइन तथा बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको जानकारी दिए ।
समुद्री सतहबाट करिब एक हजार चार सय मिटर उचाइमा रहेको भेडेटारको स्काइवाकबाट सप्तकोशी नदी, पूर्वी तराईका फाँट तथा सगरमाथा, मकालु र कञ्चनजङ्घालगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम सफा भएका दिन सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
पहिलो पटक स्काइवाकमा चढ्दा छुट्टै अनुभूति भएको सुनसरीको देवानगञ्जका आनन्दीकुमार चौधरीले बताए । प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव लिन चाहनेहरूका लागि स्काइवाक उपयुक्त गन्तव्य बनेको उनको भनाइ छ ।
होटल लावती कर्ननका सञ्चालक तथा होटल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लिलाराज लावतीले स्काइवाकले भेडेटारलाई कोशी प्रदेशको मात्र नभई देशकै महत्त्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुगेको बताए । उनले स्काइवाकका कारण साना पसलदेखि होटल व्यवसायसम्म चलायमान बनेको जानकारी दिए ।
परियोजनाले वार्षिक तीन लाख रुपैयाँ नवीकरण शुल्क, पर्यटन कर, मूल्य अभिवृद्धि कर र अन्य विभिन्न कर तिर्नुपर्ने जनाएको छ । प्रबन्ध निर्देशक रोकाहाका अनुसार गत वर्ष करिब नौ करोड रुपैयाँको कारोबार हुँदा करिब ४५ लाख रुपैयाँ रोयल्टी र त्यति नै रकम मनोरञ्जन करका रूपमा तिर्नुपरेको थियो ।
प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी परियोजनालाई प्रवर्द्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरावलोकन आवश्यक रहेको सञ्चालकहरूको भनाइ छ । उनीहरूका अनुसार लगानीमैत्री र व्यावहारिक नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विस्तार गर्न र दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्नेछ ।


विश्व खबर 




















