images
images
  • टेम्केमैयुङमा ९ करोड ८८ लाखको आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र बन्ने

    काठमाडौं– टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। परियोजना निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।

    गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

    परियोजनाको कुल लागत ९ करोड ८८ लाख ६७ हजार ७८५ रुपैयाँ रहेको छ। सम्झौताअनुसार कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ भने बाँकी पाँच प्रतिशत रकम र मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्नेछ।

    गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, कृषि उपज सङ्कलनस्थल, ग्रेडिङ तथा वर्गीकरण, प्रशोधनलगायतका सुविधा रहनेछन्।

    अध्यक्ष बस्नेतले लामो समयदेखिको पहल, निरन्तर समन्वय र प्रयासपछि योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। उहाँले केन्द्रलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै यसबाट स्थानीय किसानले उत्पादनको उचित बजार पाउने विश्वास व्यक्त गर्नुभयो।

    “कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणका लागि भारतीय दूतावाससँग समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको गौरवको योजना हो।”

    टेम्केमैयुङ क्षेत्रमा कृषि उत्पादन बढ्दै गए पनि व्यवस्थित सङ्कलन, भण्डारण र बजार व्यवस्थापनको पर्याप्त सुविधा नहुँदा किसानले उत्पादनको उचित मूल्य नपाउने समस्या भोग्दै आएका छन्। गाउँपालिकाले निर्माण हुन लागेको आधुनिक केन्द्रले कृषि उपजको संरक्षण, गुणस्तर सुधार र बजार पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images