images
images
  • मुक्तिनाथ विकास बैंकले बनायो इतिहास, १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक

    काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ ।

    बैंकले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्म कुल कर्जा प्रवाह १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कर्जा ९७ अर्ब २२ करोड रुपैयाँ थियो । यस आधारमा समीक्षा अवधिमा कर्जा ३.३८ प्रतिशतले बढेको हो ।

    निक्षेपतर्फ पनि बैंकले उल्लेख्य वृद्धि गरेको छ । असार मसान्तसम्म बैंकको कुल निक्षेप ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

    नाफातर्फ बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ  । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ३५ करोड ३ लाख रुपैयाँको तुलनामा १२.४४ प्रतिशत बढी हो ।

    बैंकका अनुसार खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुनु र इम्पेरमेन्ट चार्ज घट्नु नाफा बढ्नुका मुख्य कारण हुन् । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढ्दा खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशतले घटेको छ  ।

    त्यसैगरी, कुल सञ्चालन आम्दानी ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशतले बढेको छ । इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा र खुद नाफामा सकारात्मक प्रभाव परेको बैंकले जनाएको छ ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ ।

    यद्यपि, नाफा बढे पनि प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ । बैंकको EPS १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । मूल्य–आम्दानी अनुपात (P/E Ratio) १९.१३ गुणा र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ ।

    हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख  छ ।

    बैंकको कर्जा तथा निक्षेप दुवै १ खर्बभन्दा माथि पुगेको अवस्था विकास बैंक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले मुक्तिनाथ विकास बैंकको व्यवसाय विस्तार, वित्तीय आधार सुदृढीकरण र बजारमा बढ्दो उपस्थितिलाई संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images