images
images
  • राष्ट्रिय अभिलेखालयका ऐतिहासिक सम्पत्तिको संरक्षण अपरिहार्य : अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक र सांस्कृतिक दस्तावेज नेपालको अमूल्य सम्पत्ति भएकाले तिनको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए ।

    अर्थमन्त्री वाग्लेले भविष्यका पुस्ताका लागि ती दस्तावेजलाई सुरक्षित रूपमा संग्रह गर्नुपर्नेमा जोड दिए । उनले अभिलेखालयका कर्मचारीलाई धन्यवाद दिँदै ऐतिहासिक सामग्रीको संरक्षणमा सबै पक्ष मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

    “यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ । नेपालका ऐतिहासिक दस्तावेजलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि धन्यवाद । अध्येता, विद्यार्थी र इतिहासमा चासो राख्नेहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ,” उनले भने ।

    अवलोकनका क्रममा उनले विभिन्न शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिसम्बन्धी अभिलेखबारे जानकारी लिएका थिए । साथै अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको विषयमा पनि कर्मचारीसँग चासो व्यक्त गरेका थिए ।

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले स्रोतसाधन अभावका कारण ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेज संरक्षण गर्न चुनौतीपूर्ण बनेको बताइन् ।

    उनले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नहुँदा अभिलेखको सुरक्षा गर्न कठिन भइरहेको उल्लेख गरिन् । अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी तथा सरकारी तहमा समेत पर्याप्त जानकारी पु¥याउन नसकिएको उनको भनाइ थियो ।

    महानिर्देशक प्रधानांगले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित राख्न आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गरिदिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images