काठमाडौं– महिन्द्राले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एक्सईभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो नयाँ विद्युतीय एसयूभीको सुरुवाती मूल्य ६० लाख रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार भेरियन्टअनुसार मूल्य फरक–फरक रहनेछ। एक्सईभी नाइन एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो, जसमा ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधि समावेश गरिएको छ।
यो मोडल विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर विकास गरिएको महिन्द्राले जनाएको छ। यसमा ठूलो ब्याट्री प्याक, लामो रेन्ज, फास्ट चार्जिङ र एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता प्रविधि उपलब्ध छन्।
एक्सईभी नाइन एसमा ५९ किलोवाट–घण्टा र ७९ किलोवाट–घण्टा क्षमताका दुई ब्याट्री विकल्प छन्। मोटर पावर १७० किलोवाट र २१० किलोवाट क्षमताको रहेको छ। कम्पनीका अनुसार पूर्ण चार्जमा यसले क्रमशः ३५० किलोमिटर र ४५० किलोमिटरसम्मको रेन्ज दिन्छ।
यो रियर ह्वील ड्राइभ पावरट्रेनमा उपलब्ध छ भने पाँचवटा ड्राइभिङ मोड पनि राखिएको छ। महिन्द्राले यसलाई आफ्नो इलेक्ट्रिक पोर्टफोलियोको महत्त्वपूर्ण उत्पादनका रूपमा प्रस्तुत गरेको छ।


विश्व खबर 




















