काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित बनाउन नयाँ अनलाइन प्रणाली लागू गरेको छ। २०८३ साउन १ गतेदेखि लागू भएको प्रणालीमा नयाँ लाइसेन्सको फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ।
नयाँ प्रणाली नागरिक एप, राष्ट्रिय परिचयपत्र र मोबाइल सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको विभागले जनाएको छ। अब नागरिक एपमार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था गरिएको छ। विदेशमा रहेका सेवाग्राहीलाई इमेलमार्फत ओटीपी प्राप्त हुने सुविधा पनि थपिएको छ।
सर्भर अपग्रेडका क्रममा देशभरका यातायात कार्यालयमा करिब तीन सातासम्म सेवा प्रभावित भएको थियो। विभागका निर्देशक केशव खतिवडाले अहिले सेवा सञ्चालनमा आइसकेको र समस्या सर्भर बिग्रिएको नभई प्रणाली स्तरोन्नतिसँग सम्बन्धित रहेको स्पष्ट पारे।
उनका अनुसार हाल लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीको चाप अत्यधिक भएकाले कार्यालयहरूले नवीकरणलाई प्राथमिकता दिएका हुन्। नयाँ फारम भर्ने, लिखित परीक्षा र ट्रायल परीक्षा भने देशभर सञ्चालन भइरहेको उनले बताए।
नयाँ प्रणाली राष्ट्रिय परिचयपत्रसँग प्रत्यक्ष जोडिएकाले परिचयपत्र नम्बर नभएका सेवाग्राहीको काम रोकिएको विभागले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गरेपछि प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर भए पुग्ने र कार्ड छापिएर आउन पर्खिन नपर्ने खतिवडाले बताए।
विभागले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइटमार्फत अनलाइन फारम भर्ने व्यवस्था पनि लागू गरेको छ। सेवाग्राहीले आफूलाई पायक पर्ने प्रदेशको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।


विश्व खबर 




















