काठमाडौं– नेपालमा गत आर्थिक वर्ष करिब १२ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नाइमा मोबिलिटी संवाद कार्यक्रममा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोही अवधिमा करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताका रूपमा बाहिरिएको छ।
राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हालसम्मको कुल मौज्दात एफडीआई ३४० अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये सबैभन्दा बढी लगानी भारतबाट आएको छ, जसको हिस्सा करिब ५६–५७ प्रतिशत रहेको छ। त्यसपछि चीन, आयरल्यान्ड, अष्ट्रेलिया र सिङ्गापुरका लगानीकर्ताको उपस्थिति देखिन्छ।
क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योग, जलविद्युत र बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी लगानी आएको छ। यी तीन क्षेत्रले कुल एफडीआईको करिब ८० प्रतिशत हिस्सा ओगटेका छन्। उद्योग क्षेत्रमा ५६ प्रतिशत र सेवा क्षेत्रमा ४४ प्रतिशत लगानी रहेको तथ्यांकमा उल्लेख छ।
तिमिल्सिनाले एफडीआईलाई केवल विदेशी पैसा मात्र नभई प्रविधि, व्यवस्थापन, सुशासन र उत्कृष्ट अभ्यास भित्र्याउने माध्यमका रूपमा पनि हेर्नुपर्ने बताए।
उनका अनुसार नेपालको एफडीआई अवस्था क्षेत्रीय देशहरूको तुलनामा निकै कमजोर छ। विश्व बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष विश्वभर एफडीआई प्रवाह ८४७.८ बिलियन अमेरिकी डलर थियो, जुन विश्व जीडीपीको करिब ०.७५ प्रतिशत हो। नेपालमा भने एफडीआई प्रवाह ७३.८ मिलियन अमेरिकी डलर मात्र थियो, जुन नेपालको जीडीपीको ०.१८ प्रतिशत बराबर हो।


विश्व खबर 




















