काठमाडौं– महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयका स्रेस्ता नष्ट भए पनि गोश्वारा भौचर सुरक्षित रहेको बताएका छन् ।
सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले विनियोजन तथा खर्चसम्बन्धी विवरण टीएसए र सीजिएस प्रणालीमा सुरक्षित रहेको जानकारी दिए । गोश्वारा भौचरका आधारमा कसले, कहिले र कति रकम खर्च गरेको तथा बैंकमार्फत कसलाई भुक्तानी गरिएको भन्ने विवरण पुनः हेर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार हाल उपलब्ध नभएको मुख्य कागजात खर्चसँग सम्बन्धित बिल मात्र हो । जिन्सी सामानको विवरण भने पाम्स प्रणालीमा सुरक्षित रहेको र खरिद आदेश, दाखिला, सामानको प्रकार र मूल्यसमेत हेर्न सकिने उनले बताए ।
धरौटी, विविध खाता र पेस्कीसम्बन्धी विवरण पनि प्रणालीमा सुरक्षित रहेको उनले जानकारी दिए । आर्थिक विवरण प्रमाणित भइसकेकाले फर्छ्यौट भएको, म्याद नाघेको र ननाघेको पेस्की पहिचान गर्न ठूलो समस्या नहुने उनको भनाइ छ ।
तर राजस्वसम्बन्धी विवरण पुनर्स्थापनामा जटिलता रहेको उनले बताए। कानुनअनुसार उठेको राजस्व सोही दिन वा भोलिपल्ट बैंकमा दाखिला गर्नुपर्ने भए पनि केही कार्यालयबाट ४ देखि १० दिनसम्मको राजस्व कार्यालयमै रहेको र आगलागीमा नष्ट भएको प्रतिवेदन प्राप्त भएको उनले जानकारी दिए ।
लामिछानेका अनुसार राजस्वको विषयमा छुट्टै नीतिगत निर्णय आवश्यक पर्ने देखिएको छ भने अन्य वित्तीय विवरण उपलब्ध प्रणालीका आधारमा पुनः कायम गर्न सकिने अवस्था रहेको छ ।


विश्व खबर 




















