images
images
  • स्मार्ट सेल प्रकरण : सीआईबीद्वारा पूर्वअध्यक्ष भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय

    काठमाडौं– स्मार्ट सेल प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

    सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

    प्रहरीका अनुसार स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशकसहित ६ जना, कम्पनीको सामान खरिदकर्ता ३ जना, एनसेलका ९ जना, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २ जना र नेपाल दूरसञ्चार प्राधिकरणका १ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

    यो प्रकरणमा सीआईबीले साउन १४ गते पूर्वअध्यक्ष भण्डारीलाई पक्राउ गरेको थियो ।

    नवीकरण नगरेपछि २०८० वैशाखदेखि स्मार्ट टेलिकमको सेवा बन्द छ । अनुसन्धानका क्रममा नवीकरणपछि प्राधिकरणको स्वामित्वमा आउनुपर्ने उपकरण गैरकानुनी रूपमा लिलाम बिक्री गरिएको भेटिएको सीआईबीले जनाएको छ ।

    आरोपीहरूले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक काम गरी सरकारलाई ठगी गरेको निष्कर्ष प्रहरीको छ ।

    यसअघि गत वैशाखमा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पक्राउ गरेको थियो। उनीहरू हाल हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images