images
images
  • बिगसका दुई नयाँ प्रिमियम विद्युतीय स्कुटर नेपालमा सार्वजनिक

    काठमाडौं– भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड बिगसले नेपालमा दुई नयाँ प्रिमियम विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा बिगस अटो प्रालिले सी१२ म्याक्सआर र ऊवाह म्याक्स प्लस मोडलका स्कुटर नेपाली बजारमा ल्याएको हो ।

    काठमाडौंको भृकुटीमण्डपस्थित नाइमा मोबिलिटी एक्स्पो २०२६ मा आयोजित कार्यक्रममा अतिथि, साझेदार, डिलर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा स्कुटर सार्वजनिक गरिएको थियो । अग्नि मोटोइंक नेपालमा बिगस विद्युतीय स्कुटरको आधिकारिक वितरक हो ।

    कम्पनीले स्वच्छ, दिगो र आधुनिक सहरी यातायातलाई लक्षित गर्दै भरपर्दो र वातावरणमैत्री विद्युतीय स्कुटर नेपाली बजारमा ल्याइएको जनाएको छ ।

    सी१२ म्याक्सआरलाई परिवार तथा दैनिक आवागमनका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ४.२ किलोवाट मोटर, ३.८ किलोवाट–घण्टा एलएफपी ब्याट्री र प्रतिघण्टा ७५ किलोमिटर अधिकतम गति उपलब्ध छ ।

    स्कुटरमा तीन प्रकारका सवारी मोड, सुरक्षा प्रणाली, बाँकी यात्राको दूरी देखाउने सुविधा, ४० लिटरभन्दा बढी भण्डारण क्षमता तथा घरमै चार्ज गर्न सकिने सुविधा दिइएको छ ।

    यस्तै, ऊवाह म्याक्स प्लसलाई युवा पुस्तालाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसले एकपटकको चार्जमा करिब १४५ किलोमिटरसम्म यात्रा गर्न सक्ने बताइएको छ । स्कुटरमा २.४ किलोवाट मोटर, ३.० किलोवाट–घण्टा लिथियम–आयन ब्याट्री र करिब ६० किलोमिटर प्रतिघण्टा अधिकतम गति रहेको छ ।

    यसमा करिब साढे दुई घण्टामा चार्ज गर्न सकिने सुविधा, डिजिटल सूचना प्रणाली, मोबाइल चार्जिङ पोर्ट, ऊर्जा पुनःसञ्चित गर्ने प्रणाली तथा २१ लिटरभन्दा बढी भण्डारण क्षमता उपलब्ध छ ।

    बिगस अटोका वरिष्ठ उपाध्यक्ष सतीश शेट्टीले नेपालमा कम्पनीको विस्तारले अग्नि मोटोइंकसँगको बलियो साझेदारी र स्वच्छ यातायाततर्फको साझा प्रतिबद्धता झल्काउने बताए। कम्पनीले दुवै स्कुटरको यात्रा दूरी र चार्जिङ समय प्रयोगको अवस्था, भार, सडकको बनावट र ब्याट्रीको अवस्थाअनुसार फरक पर्न सक्ने स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images