images
images
  • इलाममा अलैँचीतर्फ किसानको आकर्षण बढ्दो, धानबाली मासेर व्यावसायिक खेती विस्तार

    काठमाडौं– अलैँचीको मूल्य लगातार उच्च रहन थालेपछि इलामका किसानहरू अन्नबाली हुने खेतबारीसमेत मासेर व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न गाउँमा यस वर्ष ठूलो परिमाणमा नयाँ अलैँचीका बिरुवा रोप्ने क्रम बढेको छ ।

    माङसेबुङ गाउँपालिका–२ पावाका ३६ वर्षीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफलमा अलैँचीखेती सुरु गरेका छन् । उनले सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट १४ रुपैयाँका दरले भार्लाङ जातका तीन हजार बिरुवा खरिद गरी रोपेका हुन् ।

    अलैँचीले राम्रो मूल्य दिन थालेपछि अन्नबाली फल्ने बारीमा अलैँची लगाएको उनले बताए । राजनीति र उत्पादनलाई सँगसँगै अघि बढाउन व्यावसायिक खेती थालेको उल्लेख गर्दै उनले राजनीतिमा टिक्न निश्चित आम्दानीको स्रोत आवश्यक पर्ने धारणा राखे ।

    माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस वर्ष धानखेती मासेर अलैँचीखेती विस्तार गरेका छन् । उनले तीन हजारभन्दा बढी नयाँ बिरुवा रोपेका छन् । तीन वर्षअघि धान फल्ने खेतमा अलैँची लगाएका उनले गत वर्ष १३ मन सुक्खा अलैँची उत्पादन गरेका थिए ।

    नेम्बाङका अनुसार धानभन्दा अलैँचीबाट धेरै आम्दानी हुने भएकाले खेती विस्तार गरिएको हो । अलैँची एक पटक लगाएपछि वर्षौँसम्म उत्पादन दिने भएकाले धान रोप्ने खेतमा पनि अलैँची लगाउन थालेको उनले बताए ।

    इलाममा अहिले अलैँची रोप्ने मुख्य सिजन भएकाले किसानहरू पाखाबारी, खाली जमिन र अन्नबाली हुने खेतबारीमा समेत अलैँची रोप्न व्यस्त छन् । जिल्लाका धेरै किसानको मुख्य नगदेबालीका रूपमा अलैँची स्थापित हुँदै गएको छ ।

    माइजोगमाई गाउँपालिका–५ कै किसान अर्जुन भण्डारीले यस वर्ष धान फल्ने खेतमा समेत अलैँचीखेती विस्तार गरेका छन्। उनी विगतदेखि पाखाबारीमा व्यावसायिक अलैँचीखेती गर्दै आएका छन् र वार्षिक १० मनसम्म उत्पादन हुने गरेको बताए ।

    इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्यालका अनुसार गत वर्ष मुख्य सिजनमा अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँसम्म कारोबार भएको थियो भने यस वर्ष पनि करिब १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यही मूल्यका कारण किसानहरू अलैँचीखेतीतर्फ आकर्षित भएका हुन् ।

    खेर गएको, अन्नबाली राम्रो नहुने, चिस्यानयुक्त, ओसिलो, सेपिलो, छायाँ पर्ने तथा कमसल जमिनमा पनि अलैँचीखेती सफल हुने भएकाले किसानहरूले यसलाई आयआर्जनको भरपर्दो माध्यमका रूपमा लिन थालेका छन् ।

    कम मेहनत र अपेक्षाकृत कम लगानीमा राम्रो आम्दानी हुन थालेपछि अलैँचीखेती विस्तार भइरहेको किसानहरूको भनाइ छ । अन्नबालीमा जनशक्ति अभाव, बाँदरबाट हुने क्षति र बजारको अनिश्चितताका कारण पनि धेरै किसान नगदेबालीतर्फ मोडिएका छन्।

    किसानहरूले रामशाही, गोलशाही, जिर्तले र भर्लाङ्गेलगायत जातका अलैँची लगाउँदै आएका छन् । बजार र यातायातको समस्या पनि अहिले धेरै हदसम्म हटेको किसानहरूको भनाइ छ । व्यापारीहरू घरमै आएर अलैँची खरिद गर्ने भएकाले बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट कम भएको माङसेबुङ गाउँपालिका–२ का किसान कैलाशकुमार राईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images