काठमाडौं– अण्डाको बजार माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ। संघले मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।
संघका अनुसार एक्सएल अण्डाको प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५०० रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ समर्थन मूल्य कायम गरिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको संक्रमण कम भएको भए पनि ठूलो संख्यामा कुखुरा मरेकाले अण्डा उत्पादन घटेको र बजारमा माग बढेकाले मूल्य समायोजन गर्नुपरेको बताए।
उनका अनुसार फार्महरूले दिएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको हो। मूल्य बढेपनि किसानले अझै लागत मूल्य प्राप्त गर्न नसकेको उनले बताए।
संघका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। यसअनुसार प्रतिक्रेट लागत ५७३ रुपैयाँ ६० पैसा पुग्ने हुँदा हाल कायम गरिएको समर्थन मूल्य लागतभन्दा कम रहेको व्यवसायीहरूको भनाइ छ।
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेको र लागत नउठेपछि पछिल्ला केही वर्षदेखि धेरै किसान कुखुरापालन व्यवसायबाट बाहिरिन थालेको संघले जनाएको छ।
उत्पादन घट्नु, रोगको संक्रमण फैलिनु तथा बजार मूल्य अस्थिर रहनुले किसान बैंक ऋणको भरमा चल्न बाध्य भएको व्यवसायीहरूको भनाइ छ। पोखरेलका अनुसार पछिल्लो समय बर्डफ्लुका कारण केही किसानका कुखुरा मरेका थिए भने कुखुरा बाँचेका किसानले पनि अण्डाको उचित मूल्य नपाउँदा ठूलो नोक्सानी बेहोर्नुपरेको छ।


विश्व खबर 




















