काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
अख्तियारले सम्पत्ति विवरण सङ्कलनका लागि विभिन्न निकायमा पत्राचार गरेको छ ।
अनुसन्धान अधिकृतहरूले बैंक खातामा भएको कारोबार र शेयर लगतको विवरण पनि सङ्कलन गरिरहेका छन् ।
त्यसपछि सम्बन्धित व्यक्तिलाई सम्पत्ति विवरण फारम भराउने र बयान लिने तयारी रहेको स्रोतले जनाएको छ ।
प्रकाश देउवा हाल अमेरिकामा रहेको जानकारी पाएपछि अख्तियारले उनको सम्पत्ति विवरण र बयान लिने प्रयास गरिरहेको जनाएको छ ।
उनी कैलालीबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।
यसअघि विद्युतीय राहदानी ठेक्का प्रकरणमा आरजु राणा देउवामाथि पनि अनुसन्धान भएको थियो, तर विशेष अदालतमा मुद्दा दायर गर्दा उनलाई प्रतिवादी बनाइएको थिएन ।
अख्तियारले उनको हकमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।
यस्तै, अख्तियारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि अकुत सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान अघि बढाएको छ ।


विश्व खबर 




















