काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने महत्त्वपूर्ण मञ्च भएको बताए । यस्ता प्रदर्शनीले नयाँ प्रविधिको जानकारी गराउनुका साथै भविष्यका सम्भावनालाई उजागर गर्ने उनले विश्वास व्यक्त गरे ।
उनले विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको र आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन र व्यापारमा परेको बताए । अटोमोबाइल क्षेत्र सरकारलाई महत्त्वपूर्ण राजस्व योगदान गर्ने तथा ठूलो रोजगारी सिर्जना गर्ने क्षमता भएको क्षेत्र रहेको उनको भनाइ छ ।
पाण्डेले यो क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन र यातायातसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै पछिल्लो समय देखिन थालेका सकारात्मक गतिविधि स्वागतयोग्य रहेको बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा उनले जोड दिए । पुँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात र सहरी पूर्वाधारको विकास तीव्र हुने तथा त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा पर्ने उनले बताए ।
उनका अनुसार अटोमोबाइल एक्स्पोहरू व्यापार प्रवर्द्धनका माध्यम मात्र नभई उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्ने माध्यम पनि हुन्। यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले बताए ।
युवा पलायनबारे चिन्ता व्यक्त गर्दै पाण्डेले नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति भए पनि हरेक वर्ष हजारौँ युवा विदेशिन बाध्य भइरहेको बताए। उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन र मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने उनले उल्लेख गरे ।
पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दिगो लगानी बढाउँदै निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै उनले यसले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण र समृद्धिको आधार बलियो बनाउने धारणा राखे ।


विश्व खबर 




















