काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक र विद्यार्थीका घरमा खाना पकाउने ग्यास सिलिण्डर पुर्याउन सहजीकरण गरेको छ । गत एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यास अभावको गुनासो दर्ता गराएका ८०२ उपभोक्ताको घरमै ग्यास पुर्याइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन र पश्चिम चितवन क्षेत्रमा ग्यास वितरण गरिएको हो । ग्यास अभाव भोगिरहेका आश्रमहरूमा समेत सिलिण्डर आश्रममै पुर्याइएको उनले जानकारी दिए ।
उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने तर आम उपभोक्तासम्म सहज रूपमा नपुग्ने गुनासो बढेपछि स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा विक्रेतासम्मको अनुगमन सुरु गरेको छ । उद्योगीहरूले पर्याप्त ग्यास आएको दाबी गरे पनि उपभोक्ता लाइनमा बस्न बाध्य भएकाले वितरण प्रणालीको निगरानी थालिएको प्रशासनको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा खटिएको छ । प्रशासनका अनुसार चितवनमा मासिक करिब एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि हाल दैनिक छदेखि सात हजार सिलिण्डर मात्रै वितरण भइरहेको छ ।
जिल्लामा साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन् । यी उद्योगबाट चितवनका डिलरहरूलाई नियमित ग्यास पठाइँदै आएको जनाइएको छ ।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनसहित अन्य जिल्लामा पनि ग्यास पठाउनुपरेकाले आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । उनका अनुसार भरिएका सिलिण्डरमध्ये आधा चितवनमा र आधा बाहिर पठाइन्छ ।
भारतको दुर्गापुर रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्ने गरिएको उनले बताए । दुर्गापुर पुग्न दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिन लाग्ने भएकाले आपूर्तिमा ढिलाइ भएको उनको भनाइ छ । साथै बरौजी रिफाइनरीबाट प्राप्त हुने ग्यासको मात्रा घट्नु र माग बढ्नु पनि अभावको कारण बनेको उनले बताए ।
कालाखेतीले केही समयका लागि आधा सिलिण्डर भर्ने व्यवस्था वा बरौजीबाट आउने कोटा अस्थायी रूपमा बढाउन सके समस्या समाधानमा सहयोग पुग्ने बताए । आवश्यक परेमा मात्रै सिलिण्डर साट्ने र अनावश्यक भण्डारण नगर्ने हो भने अभाव छिट्टै हट्ने उनको भनाइ छ ।


विश्व खबर 




















