images
images
  • आजदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु, विद्युतीय सवारी मुख्य आकर्षण

    काठमाडौं– नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आज मंगलबारदेखि सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुन लागेको एक्स्पो आगामी भदौ पहिलो सातासम्म सञ्चालन हुनेछ ।

    नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा बहुराष्ट्रिय तथा स्वदेशी सवारीसाधन निर्माता, आयातकर्ता तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

    एक्स्पोमा मुख्य आकर्षणका रूपमा विभिन्न ब्रान्डका पछिल्ला मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यापारिक सवारीसाधन रहनेछन् । साथै, नेपाल भित्रिएका नयाँ सवारीसाधन र तिनमा प्रयोग भएका आधुनिक प्रविधिहरूलाई यही मञ्चमार्फत पहिलो पटक सार्वजनिक गर्ने तयारी गरिएको छ ।

    सवारीसाधन खरिदलाई सहज बनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले विशेष कर्जा योजना, सहुलियत ब्याजदर र आकर्षक अफरहरू ल्याउने भएका छन् । बीमा कम्पनीहरूको पनि छुट्टै सहभागिता रहनेछ ।

    प्रदर्शनीमा अटोमोबाइल पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन प्रविधि तथा विभिन्न एक्सेसरिजका स्टलहरू पनि समावेश गरिएको छ । यसले विद्युतीय सवारीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू एकै स्थानमा अवलोकन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा यस एक्स्पोले अटोमोबाइल क्षेत्रलाई नयाँ दिशा दिने र उपभोक्तालाई एकै थलोमा धेरै विकल्प उपलब्ध गराउने आयोजकको विश्वास छ ।

    एक्स्पो अवलोकनका लागि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म समय तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images