काठमाडौं– स्टक ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले आजदेखि मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्जले तोकेको प्रक्रियाअनुसार सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
कम्पनीका अनुसार योग्य लगानीकर्ताले प्रारम्भिक मार्जिन रकम जम्मा गरी कम्पनीमार्फत योग्य सूचीकृत कम्पनीका सेयर खरिद गर्न सक्नेछन्। यसका लागि आवश्यक कागजातसहित कम्पनीको कार्यालयमा उपस्थित भई आवेदन दिई सम्झौता गर्नुपर्नेछ।
क्रिस्टल कञ्चनजंघाले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋणमा आधारित सुविधा ल्याएको छ। अर्थात् लगानीकर्ताले सेयर खरिदका लागि आवश्यक रकमको ३० प्रतिशत आफैंले लगानी गरे पुग्नेछ भने बाँकी ७० प्रतिशतसम्म कम्पनीबाट मार्जिन ऋण लिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मको कारोबार सीमाका लागि मार्जिन ऋण उपलब्ध हुनेछ। कारोबार सीमाअनुसार ऋणको रकम ७ लाख रुपैयाँदेखि १ करोड ४० लाख रुपैयाँसम्म रहनेछ।
मार्जिन ऋणमा ब्याज तथा प्रशासनिक शुल्क लाग्ने कम्पनीले जनाएको छ। ३०, ६०, ९०, १२०, १५० र १८० दिनसम्मका लागि लाग्ने कुल शुल्कसमेत सार्वजनिक गरिएको छ। पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनका लागि शुल्कमा एक प्रतिशत छुट दिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
मार्जिन ट्रेडिङ सुविधा लिन चाहने लगानीकर्ताले कम्पनीले तोकेको योग्यता तथा आवश्यक कागजात पूरा गर्नुपर्नेछ। कम्पनीले सेवा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा आन्तरिक जोखिम व्यवस्थापन नीतिअनुसार सञ्चालन गरिने जनाएको छ।


विश्व खबर 




















