images
images
  • सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व : अर्थमन्त्री वाग्ले

    काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैधरूपमा सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ।

    नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

    उहाँले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताउँदै आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको प्रयासबाट मात्र सम्भव नहुने स्पष्ट पार्नुभयो। त्यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको उहाँको भनाइ थियो।

     

    सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उहाँले बताउनुभयो। उद्योगले कमाएको नाफाले पुनः लगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी तथा आम्दानीले अन्ततः राज्यको राजस्वमा योगदान पुर्‍याउने भएकाले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उहाँले उल्लेख गर्नुभयो।

    अर्थमन्त्री वाग्लेले वैध लगानी र मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारीका अवसर सिर्जना गर्न उद्यमीलाई आग्रह गर्नुभयो।

    उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत सरकारको प्राथमिकता केवल कर सङ्कलन नभई उत्पादन, लगानी, नाफा र पुनर्लगानीको चक्रलाई तीव्र बनाउनु रहेको बताउनुभयो।

    “नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व हो। लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठूलो लगानी आउन सक्दैन,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

    2 1786349889

    छलफलका क्रममा उहाँले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा, श्रम, पूर्वाधार र कानुनी प्रक्रियामा रहेका व्यवधानबारे व्यवसायीका प्रत्यक्ष अनुभव र सुझाव माग्नुभयो।

    सरकारले आगामी ६ महिनाभित्र गर्नुपर्ने मुख्य सुधारका कार्य पहिचान गरी समाधानका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्ने जानकारी उहाँले दिनुभयो।

    कार्यक्रममा सहभागी उद्यमीले लगानीका अवरोध, नीतिगत सुधार र व्यवसायमैत्री वातावरणका विषयमा सुझाव दिएका थिए। प्राप्त सुझावलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार व्यवसायीको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।

    4 1786349916

    छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एअरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, इसान इनरबिलिटी, डाबर नेपाल, वोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, एशियन पेन्ट्स (नेपाल), पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रिटेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी तथा बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) का प्रतिनिधि सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images