images
images
  • ग्यास आयात नियमित, कमजोर व्यवस्थापनका कारण बजारमा अभाव

    काठमाडौं– सरकारले भरी सिलिन्डर ग्यास बिक्री–वितरण गर्ने निर्णय गरेको १५ दिन नबित्दै बजारमा ग्यास अभाव देखिन थालेपछि उपभोक्ताले गुनासो गर्न थालेका छन् । कतिपयले भारतबाट ग्यास नआएको वा आयात घटेकाले समस्या भएको दाबी गरे पनि नेपाल आयल निगमको तथ्यांकले आयात नियमित रहेको देखाएको छ।

    निगमका अनुसार ग्यास आयातमा कमी आएको छैन। आन्तरिक व्यवस्थापन कमजोर हुँदा बजारमा अभावको अवस्था देखिएको हो । तर सरकारी निकाय, उद्योगी र विक्रेताले भने उपभोक्ताले आवश्यकता भन्दा बढी सञ्चिति गर्दा समस्या बढेको बताएका छन् ।

    गत फागुनमा पश्चिम एसियामा जारी द्वन्द्वका बेला ग्यास अभाव सुरु भएको थियो । त्यसपछि सरकारले फागुन अन्तिम सातादेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेको थियो । पछि असार ३१ गतेदेखि नेपाल आयल निगमले पुनः भरी सिलिन्डर वितरण सुरु गरेको थियो । त्यसयता बजारमा फेरि अभाव देखिन थालेको हो ।

    निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार पश्चिम एसियामा तनाव सुरु भएको महिना फागुनमा ५१ हजार १९२ टन ग्यास बिक्री भएको थियो। चालु साउन २३ गतेसम्म ४१ हजार २९४ टन ग्यास आयात भइसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले ग्यास आपूर्ति नियमित रहेको र केही दिनभित्र बजारमा सहज रूपमा ग्यास उपलब्ध हुने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    उपभोक्ताले भने डिलर तथा बिक्री केन्द्रमा पटक–पटक धाउनुपरेको गुनासो गरेका छन्। ऊर्जा क्षेत्रका जानकारहरूले आयात नियमित भए पनि वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन नसकिए अभाव दोहोरिन सक्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images