काठमाडौं– सन् २०२७ मा ब्राजिलमा आयोजना हुने महिला विश्वकप फुटबलका लागि अफ्रिकाबाट अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी छनोट भएका छन् ।
मोरक्कोमा जारी महिला अफ्रिका कपको क्वार्टरफाइनलमा अल्जेरियाले १० खेलाडीमा सीमित आइभरी कोस्टलाई २–१, आयोजक मोरक्कोले दक्षिण अफ्रिकालाई २–१, क्यामरुनले नाइजेरियालाई १–० तथा मलावीले विश्व वरीयतामा १५३औँ स्थानको घानालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा मोरक्को र क्यामरुन तथा अल्जेरिया र मलावीबीच प्रतिस्पर्धा हुनेछ ।
क्वार्टरफाइनलमा पराजित आइभरी कोस्ट, घाना, नाइजेरिया र दक्षिण अफ्रिकाको विश्वकप यात्रा भने अझै बाँकी छ । उनीहरूले प्लेअफ खेल्नेछन् र विजेता दुई टोली अन्तरमहादेशीय छनोटमा पुग्नेछन् । १० टोली सहभागी हुने उक्त छनोटबाट तीन टोली विश्वकपमा पुग्नेछन् ।
यस्तै, युरोपबाट इङ्ल्यान्ड, आयरल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डसँग पनि छनोटको अवसर बाँकी छ । उनीहरूले अक्टोबरदेखि डिसेम्बरसम्म छनोट खेल्नेछन् ।
जुन २४ देखि जुलाई २५, २०२७ सम्म ब्राजिलमा हुने महिला विश्वकपमा ३२ टोली सहभागी हुनेछन् । हालसम्म १८ टोली छनोट भइसकेका छन् ।
अफ्रिकाबाट चारबाहेक एसियाबाट अस्ट्रेलिया, चीन, जापान, उत्तर कोरिया, फिलिपिन्स र दक्षिण कोरिया; युरोपबाट डेनमार्क, फ्रान्स, जर्मनी र स्पेन; ओसिनियाबाट न्युजिल्यान्ड तथा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र कोलम्बिया छनोट भइसकेका छन् ।


विश्व खबर 


















