images
images
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ८३ प्रतिशतले बढ्यो, १ अर्ब १८ करोड पुग्यो

    काठमाडौं-शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा ८२.९७ प्रतिशतले वृद्धि भई १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको नाफामा उल्लेख्य सुधार हुनुमा खुद ब्याज आम्दानी बढ्नु र खराब कर्जाबापत छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्जमा ठूलो कमी आउनुलाई मुख्य कारण मानिएको छ। अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कुल सञ्चालन आम्दानी ६.३९ प्रतिशतले वृद्धि भई ३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

    यता, कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ९५ करोड रुपैयाँबाट घटेर २१ करोड रुपैयाँमा सीमित भएको छ, जुन ७८.१२ प्रतिशतको गिरावट हो। इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

    यद्यपि बैंकको खराब कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्षको तुलनामा ०.६६ प्रतिशत बिन्दुले बढेर खराब कर्जा ४.९३ प्रतिशत पुगेको छ। यो अनुपात ५ प्रतिशतको नजिक पुग्नुले बैंकले कर्जा असुली तथा जोखिम व्यवस्थापनमा थप कडाइ गर्नुपर्ने संकेत गरेको विश्लेषकहरू बताउँछन्।

    चौथो त्रैमाससम्म बैंकले ७७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ८.४८ प्रतिशत र कर्जा प्रवाह ११.१८ प्रतिशतले बढेको हो। बैंकको कर्जा–निक्षेप अनुपात ८४.१८ प्रतिशत रहेको छ, जसले थप कर्जा लगानी गर्न सक्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

    हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ। सेयरधनीलाई लाभांश वितरण गर्न मिल्ने वितरणयोग्य नाफा ८५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ सञ्चित रहेको छ।

    नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १०.२८ रुपैयाँले बढेर २३.५२ रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी १६.८६ रुपैयाँ रहेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात १७.६४ गुणा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images