काठमाडौं– प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच शुक्रबार सिंहदरबारमा करिब एक घण्टा समसामयिक राजनीतिक तथा जनजीविकासम्बन्धी विषयमा छलफल भएको छ ।
छलफलमा संविधान संशोधन, रासायनिक मलको अभाव, सुकुम्बासी व्यवस्थापन, स्वास्थ्य बिमा र संसदप्रति प्रधानमन्त्रीको जबाफदेहितालगायत पाँच विषयमा केन्द्रित चर्चा भएको थियो ।
राप्रपाले संविधान संशोधनमा राजसंस्था, हिन्दुराष्ट्र र संघीयता खारेजीजस्ता विषय पनि समेट्न आग्रह गरेको थियो ।
जवाफमा प्रधानमन्त्री शाहले अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको र कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै प्रक्रिया अघि बढ्ने बताएका छन् ।
सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्रीले ूसुकुम्बासीलाई व्यवस्थापन गरिन्छ, तर काठमाडौंमै जग्गा दिन सक्ने अवस्था छैनू भन्दै वैकल्पिक व्यवस्थापनको काम भइरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य बिमा सेवा निजी अस्पतालमा पुनः सञ्चालन गर्नुपर्ने राप्रपाको मागमा प्रधानमन्त्रीले व्यवस्थागत सुधारपछि निर्णय गरिने बताएका छन् ।
मल अभाव हुन नदिने गरी सरकारले काम गरिरहेको दाबी पनि उनले गरेका छन् ।
संसदप्रति प्रधानमन्त्रीको उपस्थितिबारे उठेको प्रश्नमा शाहले अब नियमित रूपमा संसदमा उपस्थित हुने र संवादका लागि खुला रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, भ्रष्टाचारसम्बन्धी सूचना सिधै प्रधानमन्त्री कार्यालयमा दिन पनि आग्रह गरेका छन् ।






















